पुनर्निर्माण कार्यले तीव्रता पाउँछः गृहमन्त्री लेखक

काठमाण्डु टुडे २०८१ पुष २१ गते १५:२९ मा प्रकाशित

काठमाण्डु, २१ पुस– गृहमन्त्री रमेश लेखकले भूकम्प र बाढीपहिरोबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण कार्यले तीव्रता पाउने बताएका छन ।

आज (आइतबार) राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको २८औं बैठकमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन ।

उनले उक्त विपद्बाट भएको क्षतिको मूल्यांकन र पुनर्निर्माण कार्य तीव्र रूपमा अगाडि बढ्ने पनि बताएका छन । गृहमन्त्री लेखकले भने, ‘आज डोटी, बाजुरा, बझाङ र जाजरकोटको भूकम्प तथा बाढी पहिरोले उत्पन्न विपद्बाट भएको क्षतिबारे विपद् क्षतिको मूल्यांकन (डीडीए) को काम सुरु गर्ने र डीडीए भइसकेको ठाउँमा पुनर्निर्माणको काम अगाडि बढाउने निर्णय भएको छ ।’

विपद् क्षतिको मूल्यांकन भइसकेको ठाउँमा पुनर्निर्माण गर्नका लागि आवश्यक कानुनी र आर्थिक विषयमा निर्णय भएको गृहमन्त्री लेखकले बताए ।

उनले थपे, ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी मापदण्ड केही समयअघि पारित भइसकेको छ । सोहीसम्बन्धी कार्यविधि आज हामीले पारित गरेका छौं । आगामी माग तेस्रो सातादेखि जाजरकोटको भूकम्पको विपद् क्षतिको मूल्यांकन कार्य सुरु हुनेछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us