गोरखा–काठमाण्डु एकीकरण पदमार्गमा नेपाली सेनाको पदयात्रा सुरु

काठमाण्डु टुडे २०८१ पुष २१ गते १३:५० मा प्रकाशित

काठमाण्डु, २१ पुस– नेपाल एकीकरणका क्रममा प्रयोग गरिएको पदमार्गको प्रचार प्रसारका लागि नेपाली सेनाको एक टोली आजबाट गोरखा–काठमाण्डु पदयात्रा सुरु गेको छ ।

गोरखाबाट सुरु भएको एकीकरण पदयात्रा धादिङ, नुवाकोट हुँदै यही पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाण्डुको हनुमान ढोका दरबारमा आयोजना हुने विशेष समारोहमा सहभागी भएर समापन हुने नेपाली सेना रिपुर्मदन गण गोरखाका गणपति प्रमुख सेनानी अशोककुमार क्षेत्रीले जानकारी दिएका छन ।

गोरखा दरबारस्थित तत्कालीन राजा पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तारका क्रममा प्रयोग गरेको पैदलमार्गमा नेपाली सेनाले पदयात्राको थालनी गरेको हो । प्रमुख क्षेत्रीले भने, ‘एकीकरण पदयात्राले ऐतिहासिक पदमार्गको व्यापक प्रचारप्रसार हुनेछ, इतिहासको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनका लागि पदयात्रा कार्यक्रमको आयोजना गरिएको हो ।’

दरबारस्थित हनुमान भञ्ज्याङ चौताराबाट नेपालको राष्ट्रिय झण्डा र लाइट बोकेर सेनाको टोली पदयात्रामा निस्किएको प्रमुख सेनानी क्षेत्रीले जानकारी दिएका छन ।

पृथ्वीनारायण शाहले खडा गरेको तत्कालीन नेपाली सेनाको पहिलो पाँच कम्पनी श्रीनाथ गण, कालीबक्स गण, पुरानो गोरख, बर्दबहादुर गण र सुवज गणको झण्डासमेत बोकेर सेनाले बोकेको छ । सेनाले गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिकासँगको सहकार्यमा एकीकरण पदयात्राको थालनी गरेको हो ।

गोरखाबाट निस्किएको टोलीले आज धादिङस्थित सेनाको टोलीलाई गोरखाबाट लिएर गएको राष्ट्रिय झण्डा र लाइट हस्तान्तरण गर्नेछ भने धादिङको टोलीले नुवाकोटस्थित सेनाको टोलीलाई गोरखाबाट लिएर गएको राष्ट्रिय झण्डा र लाइट हस्तान्तरण गर्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us