काठमाण्डु, २१ पुस-नेपाल प्रहरीका पूर्वप्रमुख सवेन्द्र खनालले एमाले छाडेका छन ।
आज (आईतबार) समाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै पूर्व प्रहरी प्रमुख खनालले आफु एमालेबाट अलग भएको घोषणा गरेका हुन । खनालले आफू कुनै पनि पार्टीमा नरहेको बताएका छन ।
खनालले सामाजिक सञ्जाल फेसबुकमा उनले स्ट्याटस लेख्दै भनेका छन्, ‘हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन ।’
आफू स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्या समाधानका लागि काम गरिरहेको उनले बताएका छन् । ‘राष्ट्रघाती दोषीहरुलाई कानूनी कठघरामा पुर्याउन र हाम्रो राष्ट्रलाई महान् बनाउन मेरो सम्पूर्ण प्रयास जारी रहनेछ’, उनले भनेका छन्, ‘म देश र जनताको हितका लागि सधैँ लडिरहनेछु ।’
खनाल ०७४ देखि ०७६ सम्म नेपाल प्रहरी प्रमुख भएका थिय । त्यस लगत्तै खनाल एमालेको राजनीतिमा आएका थिए । खनाललाई एमालेले गएको संघको निर्वाचनमा काठमाण्डु-६ बाट उम्मेदवार बनाएको थियो तर खनाल पराजित भए ।
त्यस पछि पनि एमालेले उनलाई तनहुँमा भएको उपनिर्वाचनमा पनि उम्मेदवार बनाएको थियो त्यसमा पनि खनाल पराजित भए ।