काठमाण्डु, १८ पुस– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटको शेरा दरबार जग्गा प्रकरणबारे सरकारलाई छानबिन गर्न र दोषीमाथि कारबाही गर्न आग्रह गरेका छन् ।
आज (बिहिबार) संघीय सांसद अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन । अध्यक्ष प्रचण्डले दोषीलाई कारबाही गर्न र यसका लागि आफू सरकारलाई सहयोग गर्न तयार रहेको पनि बताएका छन ।
आजको बैठकमा एमाले सांसद वासुदेव घिमिरेले शेरा दरबार प्रकरणबारे प्रश्न गरेका थिए । त्यसबारे जवाफ दिँदै प्रचण्डले भने, ‘यो शेरा दरबारको विषय सुनेपछि झापाको कार्यक्रममा मैले दोषीलाई कारबाही गरियोस्, सरकारलाई म सहयोग गर्न तयार छु भनेर भनेको थिएँ ।
मलाई धेरै भन्नु छैन । जसरी ललिता निवासको कयौँ रोपनी जग्गा फिर्ता ल्याउन सकियो । यसरी नै जग्गा फिर्ता ल्याउन सके म सरकारलाई धन्यवाद भन्नेछु ।’‘म प्रधानमन्त्री हुँदै गर्दा विभिन्न खालका भ्रष्टाचारसँग सम्बन्धित फाइलहरूको बारेमा जो कोही पनि कानुन मिचेर कुनै तरिकाले भ्रष्टाचारमा संलग्न देखिन्छ भने कसैलाई पनि छुट दिन हुँदैन भनेको थिएँ,’ उनले थपे, ‘मैले आफ्नै पार्टीका नेताहरू दोषी देखिन्छन् भने छानबिनको दायरामा आउनुपर्छ ।
राज्य र सरकारको जमिन कुनै व्यक्तिले गैरकानुनी रूपले व्यक्तिको नाममा गर्छ भने जो कोही होस्, कानुनको दायरामा ल्याउनुपर्छ भनेर भनेको थिएँ । मलाई लाग्छ यदि छानबिन गर्दै जाँदा प्रचण्डलाई पनि छानबिनको दायरामा ल्याउनुपर्छ भनेर बोल्ने पहिलो प्रधानमन्त्री म नै थिएँ ।’