काठमाण्डु, १८ पुस– काठमाण्डु महानगरपालिका–९ गौशाला स्थित बागमती होटलमा मृत फेला परेकी युवतीको हत्या भएको आशंका गरीएको छ । काठमाण्डुको कागेश्वरी मनोहरा नगरपालिका घर भएकी सुस्मिता खड्का बुधवार ३०८ नम्बर कोठामा मृत अवस्थामा भेटिएकी थिइन । उक्त घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाण्डुले अनुसन्धान गरिरहेको छ ।
उनको हत्या भएको आशंका गरिएको अनुसन्धानमा संलग्न एकजना उच्च प्रहरी अधिकृतले जानकारी दिएका छन । उनी पुस १६ मा सो होटलमा पुगेकी थिइन् । शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी नवराज अधिकारीले जानकारी दिएका छन ।
उनले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ ।’ढोका नखुलेपछि फुटाएर हेर्दा उनी मृत अवस्थामा भेटिएकी हुन् । उनी स्नातक तह तेस्रो वर्षमा अध्ययनरत थिइन् । मृतकका परिवारले प्रहरी वृत्त गौशालामा घटना अनुसन्धानका लागी जाहेरी दिएका छन् ।