काठमाण्डु, १८ पुस– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पत्ति छानबिनका लागि शक्तिशाली आयोग बनाउने कांग्रेस महामन्त्री गगन थापाको प्रस्तावमा सहमति व्यक्त गरेका छन ।
आज (बिहिबार) बसेको राज्य व्यवस्था समितिको बैठकमा थापाले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धान गर्न अहिलेको कानुन अपुग भए अर्को कानुन बनाउन प्रस्ताव गरेका थिए ।
साथै उनले अर्को कुनै शक्तिशाली आयोग बनाउन सकिने प्रस्ताव पनि राखे । त्यसका लागि प्रमुख दलका शीर्ष नेताहरुलाई सँगै राखेर दिनभर छलफल गर्नुपर्ने बताए । गगन थापाले यो कुरा नेताहरुले एकअर्कालाई आरोपित गर्नका लागि भ्रष्टाचारको फाइल खोलिदिन्छु भन्दै धम्कीको भाषा बोल्ने गरेको प्रसंग जोड्दै भनेका थिए। कसैले क्यान्टोनमेन्टको, कसैले गिरिबन्धुको फाइल खोल्छु भनेर बोल्ने गरेको भन्दै उनले त्यसबाट जनतामा भ्रम पर्ने गरेको बताएका थिए ।
सो प्रसंग जोड्दै थापाले यसबारे प्रमुख दलका शीर्ष नेताहरुलाई सँगै राखेर छलफल आवश्यक रहेको बताए । थापाले भनाइ टुंग्याएपछि पुनः बोल्न समय मागेका प्रचण्डले गगन थापाले राखेका कुरा गम्भीर भएको बताए ।
उनले भने, ‘गगनजीले जे राख्नु भएको छ आफैंमा गम्भीर विषय छ । मुख्य कुरा नियत र निष्ठाको हो । नियत ठिक र निष्ठापूर्ण भयो भने सकारात्मक दिशा तिर जान्छ । तर पनि प्रमुख नेताहरु बसेर छलफल नै गर्दा उपयुक्त हुन्छ।’