भीम रावलको ओलीलाई प्रतिप्रश्नः तपाई माधव नेपाल र झलनाथ खनालसँग अध्यक्ष पदमा किन उठेको ?

काठमाण्डु टुडे २०८१ पुष १७ गते १४:१८ मा प्रकाशित

काठमाण्डु, १७ पुस– नेकपा एमालेबाट निष्काशनमा परेका पूर्व गृहमन्त्री समेत रहेका नेता डा. भिम रावलले दसौँ महाधिवेशनमा आफू अध्यक्षमा उठ्दा ओलीले किन उठेको भनेर प्रश्न गरेको भन्दै ओलीलाई आठौँ र नवौँ महाधिवेशनमा माधव नेपाल र झलनाथ खनालसँग अध्यक्षमा प्रतिस्पर्धा गर्न किन उठेको भनेर प्रतिप्रश्न गरेका छन ।

एमालेले आफुलाई निष्काशन गरेपछि पहिलो पटक आज बुधबार काठमाण्डुको माइतीघरस्थित कार्की ब्याङ्क्वेटमा पत्रकार सम्मेलन गर्दै नेता रावलले एमाले अध्यक्ष ओलीमाथि प्रतिप्रश्न गरेका हुन ।

उनले एमालेले आफूले पार्टीमा लामो योगदान गरे पनि पार्टी सदस्य नै नरहने गरी निष्कासन गरेर आफ्नो ५१ वर्षको राजनीतिक जीवनमा समाप्त पार्न खोजेका गुनासो गरे ।

उनले भ्रष्ट, दलाल र अनैतिकहरूसँग साँठगाँठ गरी ओलीले देशमा सुशासन र समाजवाद ल्याउने कुरा गर्नु पत्याउन नसकिने समेत बताएका छन । ‘मलाई महाधिवेशनमा अध्यक्ष पदमा किन उठेको भन्नेजस्तो प्रश्न गरेको पढ्दा प्रतिप्रश्न गर्न मन लाग्यो ?’

रावलले भने, ‘तपाई केपी ओली आठौँ महाधिवेशनमा झलनाथ खनाल र नवौँ महाधिवेशनमा माधवकुमार नेपालसँग अध्यक्षमा प्रतिस्पर्धा गरेको ?’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us