काठमाण्डु, १८ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराईले १६ मंसिरमा भएको स्थानीय तहको उपनिर्वाचनमा जनता नयाँ विकल्प नपाएर पुरानै मध्येबाट एउटा दल छान्न बाध्य भएको दाबी गरेका छन ।
स्थानीय तहका विभिन्न ४१ पदका लागि भएको उपनिर्वाचनको परिणामपछि पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जाल मार्फत यस्तो टिप्पणी गरेका हुन् ।
पूर्व प्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन, ‘दुइ वर्षभित्रै भएको ४१ वटा स्थानीय तहको उपनिर्वाचनमा अधिकांश ठाउँमा पहिले जितेको दलले हारेको र अर्को दलले जितेको देखिएको छ ।
साथै केही ठाउँलाई छाडेर अधिकांश ठाउँमा तीन पुराना दल नै एकअर्काको विकल्प बनेका छन ।’ तीन दल नै एकअर्काको विकल्प जस्तो देखिएता पनि जनता असन्तुष्ट रहेको उनको तर्क छ । उनी लेख्छन्, ‘यसको सोझो अर्थ हो जनता असन्तुष्ट छन्, विकल्प चाहन्छन्, तर नयाँ विकल्प नपाएर पुरानै मध्येबाट एउटालाई छान्न बाध्य छन् ।’
नयाँ र वैकल्पिक शक्तिहरूले यसबाट पाठ सिकेर, आ–आफ्ना कमजोरीहरू सच्याएर अर्कोपटक जनतालई विश्वासिलो र भरपर्दो विकल्प दिन सक्नुपर्ने उनको भनाइ छ । डा। भट्टराई थप लेख्छन्, ‘अन्यथा जनता अर्कै विकल्प खोज्न बाध्य हुनेछन् ।’