रास्वपाको निस्कर्षः रवि लामिछानेमाथिको सहकारी ठगीको आरोप मतदाताले खारेज गरे

काठमाण्डु टुडे २०८१ मंसिर १८ गते ११:२२ मा प्रकाशित

काठमाण्डु, १८ मंसिर- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालैको स्थानीय तह उपनिर्वाचन परिणामले आफ्ना सभापति रवि लामिछानेलाई सहकारी ठग मान्न जनता तयार नभएको सन्देश दिएको निस्कर्ष निकालेको छ ।
काठमाण्डु वडा नम्बर १६ को नतिजाले सहरी जनमत आफूहरुको पक्षमा बढ्दै गएको भन्दै रास्वपा उत्साहित देखिएको हो ।

रास्वपा सांसद शिशिर खनालले सत्ताधारीहरुले लामिछानेलाई सहकारी ठग पुष्टि गर्न जतिसुकै जोडबल गरे पनि जनता मान्न तयार नभएको रुपमा परिणामलाई बुझ्नुपर्ने बताए । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा काठमाण्डु १६ को अध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ निर्वाचित भएकी थिइन् । उनले १ हजार ५ सय ८४ मत ल्याइन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवेन्द्र पाठकले १ हजार ३ सय मत पाए । ०७९ वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा काँग्रेसका मुकुन्द रिजाल उक्त वडाको अध्यक्षमा निर्वाचित भएका थिए । स्थानीय तहमा पहिलोपटक निर्वाचनमा सहभागी भएको रास्वपाको काठमाण्डुको सहरी जनमतमा पकड देखिएको छ । खनालले सहकारी ठगीमा संलग्न आफ्नाहरुलाई जोगाउन आफ्ना सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध साँध्ने काँग्रेस एमालेलाई जनताले जवाफ दिएको तर्क गरे । आफूहरु काठमाण्डु १६ मा भोट माग्ना जाँदा मतदाताले लामिछानेमाथि प्रतिशोधपूर्ण व्यवहार भएको कुरा बताएको स्मरण गरे ।
‘आममान्छेले हाम्रो सभापतिजीमाथि प्रतिशोध साँधिएको हो भन्ने बुझेका छन्’ उनले भने, ‘मतदातको घरमा जाँदा पनि त्यही भन्नुहुन्थ्यो ।’
यस्तै उनदे सहर र नयाँ सहरीकरण भएको क्षेत्रमा आफूहरुको नभएको स्वीकार गरे ।
‘काठमाण्डु, सुनसरी, चितवनजस्ता क्षेत्रमा आकर्षण थप बढेको पाएका छौं’, उनले भने ।

निर्वाचन परिणामबाट आफूहरु उत्साहित भएको र अब गाउँगाउँमा संगठन विस्तारमा लाग्ने योजना बनाउन लागिएको खनाल बताउँछन् ।
लामिछानेलाई प्रहरीले पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा अपचलन गरेको कसुरमा गत २ कात्तिकमा काठमाण्डुबाट पक्राउ गरेको थियो ।

उनलाई १३ मंसिरमा काठमाण्डुको स्वार्णलक्ष्मी सहकारीको रकम हिनामिनाबारे बयान लिन काठमाण्डु ल्याइएको थियो । शुक्रबार, आइतबार र सोमबार तीन दिन बयान लिएर मंगलबार बिहान सोही प्रकृतिको कसुरमा बयान लिन चितवन लगिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us