काठमाण्डु, १७ मंसिर– राहदानी दुरुपयोगको अनुसन्धानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई मुद्दा नचलाउने सरकारको निर्णय विरुद्ध परेको रिट निवेदन आज (सोमबार) पेशीमा चढेको छ ।
महान्यायाधिवक्ताको कार्यालय र लामिछाने विरुद्धको निवेदन न्यायाधीशहरु हरि फुयाल र नृपध्वज निरौलाको इजलासमा पेशी तोकीएको छ ।
अमेरिकी राहदानी प्रयोग गरिरहेको अवस्थामा लामिछानेले नेपालबाट राहदानी बनाएको र त्यसको प्रयोग गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । प्रहरीले मुद्दा नचल्ने भनी तयार पारेको राय सरकारी वकिल कार्यालयले अनुमोदन गरेको थियो ।
र, तहगत हुँदै तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले ६ चैत, २०७९ मा मुद्दा नचल्ने निर्णय गरेका थिए । त्यही निर्णयका विरुद्ध २० चैत, २०७९ मा दायर भएको रिट निवेदन पटकपटक सर्दै आएको छ ।
सामाजिक अभियान्ता युवराज पौडेलले उक्त निर्णय खारेज गरेर लामिछानेमाथि अनुसन्धान गर्न आदेश हुनुपर्ने माग गरी रिटनिवेदन दर्ता गरेका थिए ।