प्रधानमन्त्री ओली जम्बो टोलीसहित चीन प्रस्थान

काठमाण्डु टुडे २०८१ मंसिर १७ गते ११:१० मा प्रकाशित

काठमाण्डु १७ मंसिर- प्रधानमन्त्री केपी ओली चार दिने औपचारिक चीन भ्रमणका सिलसिलामा सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
ओली ८६ सदस्यीय जम्बो टोलीका साथ निजी वायु सेवा कम्पनी हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट बिहान ११ बजे त्यसतर्फ उडेका हुन् ।
ओलीले मंगलबार चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार बेइजिङमा द्विपक्षीय वार्ता हुनेछ । सोही दिन राष्ट्रपति सीसँग शिष्टाचार भेट गर्नेछन् ।
भ्रमणका क्रममा ‘बीआरआई फ्रेमवर्क’ भित्र सञ्चालन हुने गरी प्रस्ताव गर्ने तयारी उनको छ । आइतबारको मन्त्रिपरिषद बैठकले ओली भ्रमणको एजेण्डा स्वीकृत गरेको थियो ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली र ली बीचको भेटमा दुई पक्षीय समझदारीमा हस्ताक्षर हुनेछ ।
‘बीआरआई फ्रेमवर्क’भित्र सञ्चालन हुने टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमकोट सडक, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाण्डु सीमापार रेलमार्ग, काठमाण्डु–हेटौंडा पोडवे, अमरगढी सिटी हल, जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन, काठमाडौं उपत्यका प्रसारण लाइन स्तरोन्नति, मदन भण्डारी विश्वविद्यालय, काठमाण्डु साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम, दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क र झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स लगायत एजेण्डामा हस्ताक्षर गर्ने तयारी छ ।
प्रधानमन्त्री ओलीको टोलीमा ३९ जना सरकारी र निजी क्षेत्रबाट ४८ गरी ८७ जनाको टोली सहभागी हुने परराष्ट्रले जनाएको छ ।

ओलीले बुधबार पेइकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम छ  । नेपाल–चीन बिजनेस फोरमले आयोजना गरेको कार्यक्रममा पनि सोही दिन सम्बोधन गर्नेछन् । ओली बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुनेछन् । ओली बिहीबार बेइजिङबाट काठमाण्डुका लागि प्रस्थान गर्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us