कालीकोट–जुम्ला सडक १३ घण्टा बन्द

काठमाण्डु टुडे २०८१ मंसिर १६ गते ९:०४ मा प्रकाशित

कालिकोट, १६ मंसिर– उपनिर्वाचनलाई लक्षित गरेर आइतबार कालीकोट–जुम्ला सडक १३ घण्टा बन्द हुने भएको छ ।

सुरक्षा संवदेनशीलताका कारण सो सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।

कालीकोट–जुम्ला सडकअन्तर्गत तिलागुफा नगरपालिका–६ खल्लागाडबाट वडा नं १ नाग्म बजारसम्म १३ घण्टा सडक बन्द हुने भएको हो ।

तिलागुफा नगरपालिका–४ राँचुलीमा वडाध्यक्षका लागि उपनिर्वाचन हुने भएकाले सो दिन यातायातका साधन बन्द गर्न लागिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए ।

सुरक्षा संवेदनशीलतालाई लिएर कालीकोट–जुम्ला सडकको खल्लागाडबाट नाग्मबजारसम्म अत्यावश्यक सवारीसाधनबाहेक अन्य सवारीसाधन नचल्ने उनले जनाए ।

बिहान ५ बजेदेखि बेलुका ६ बजेसम्म यातायातका साधन चल्न रोक लगाइएको उनको भनाइ थियो । शान्ति सुरक्षा कायम राख्न र निर्वाचन आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गर्न यातायातका साधन चल्न रोक लगाइएको भट्टराईले जानकारी दिए ।

तिलागुफा नगरपलिका–४ राँचुलीमा वडाध्यक्ष पदका लागि बिहान ७ बजेदेखि मतदान जारी छ ।

उपनिर्वाचनका कारण वडा नम्बर–४ मा सार्वजनिक बिदा दिइएको तिलागुफा नगरपालिकाका प्रमुख शङ्करप्रसाद उपाध्यायले बताए ।

निर्वाचनका दिन सबैले मताधिकार पाऊन भनेर वडामा बिदा दिने निर्णय गरेको उनले उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us