स्थानीय तहको उपनिर्वाचन: आयोगद्वारा ३ बुँदे निर्देशन जारी

काठमाण्डु टुडे २०८१ मंसिर १५ गते १७:१० मा प्रकाशित

काठमाण्डु, १५ मंसिर– निर्वाचन आयोगले भोली आइतबार हुने स्थानीय तहको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिलाई ३ बुँदे निर्देशन जारी गरेको छ ।

आज आयोगले निर्वाचन आचारसंहिता, २०७९ को दफा १८ बमोजिम निर्देशन जारी गरेको हो ।

जसअनुसार मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिन्ह वा मत सङ्केत भएको पहिरन वा व्याज लगाउन नहुने उल्लेख छ ।

यस्तै मतदान केन्द्रमा कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने एकै किसिमको साङ्केतिक पोसाक र चीजवस्तु लगाउन, बोक्न वा देखाउन नहुने, मतदाता तथा आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारी बाहेक अन्य कुने पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्न नहुने उल्लेख छ ।

यस अनुसार मतदानको दिन उपरोक्त बमोजिम कार्य भए गरेको पाइएमा मतदान केन्द्रमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीले तत्काल कारबाही गर्न सक्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us