सन् २०१७ मा भएको एमओयूकै सेरोफेरोमा बीआरआईमा सम्झौताहरू हुन्छन्: परराष्ट्रमन्त्री राणा

काठमाण्डु टुडे २०८१ मंसिर १५ गते १५:०१ मा प्रकाशित

काठमाण्डु, १५ मंसिर– परराष्ट्रमन्त्री डा.आरजुराणा देउवाले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)मा भएको समझदारी अनुसार नै नयाँ सम्झौताहरू हुने बताएकी छन ।

आज शनिबार चीन भ्रमणबाट फर्केपछि अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै परराष्ट्रमन्त्री राणाले यस्तो बताएकी हुन । उनले बीआरआईमा सन् २०१७ मा एमओयू भएको स्मरण गर्दै सोही सेरोफेरोमा रहेर सम्झौताहरू हुने बताएकी छन ।

प्ररराष्ट्रमन्त्री देउवाले भनिन्, ‘ मुख्यतः बीआरआईमा इन्टरकनेक्टिभिटीमा रहेर विकासका कामहरू अगाडि बढ्ने र इन्टरकनेक्टिभिटीका मोडेल कस्ता कस्ता हुने त्यसमा दुई दलको बिचमा सहमति भएको हो,’ उनले भनिन्, ‘तपाईँहरूलाई थाहै छ नेपाली काँग्रेसले सरकारमा सहभागी हुनुभन्दा अगाडि नै बीआरआई अन्तर्गत ऋण नलिँदा नै राम्रो हुन्छ भनेको यो कुरा सरकारका साझेदारलाई पनि थाह छ ।

उनले चीनका जारी रहेका पुराना आयोजना र नयाँ आयोजनाहरूलाई कसरी बीआरआई अन्तर्गत अगाडि बढाउने त्यसमा छलफल भएको बताउँदै उनले दोस्रो रिङरोड, हिल्सा सिमिकोट सडक, अरनिको राजमार्गलाई बीआरआई अन्तर्गत राखेर बनाउने चीनले पहिला नै घोषणा गरिसकेको पनि बताएकी छन ।

यस्तै प्ररराष्ट्रमन्त्री देउवाले टोखा छहरे सुरुङ मार्ग, सीमा नाकालगायतका आयोजना नयाँ ढङ्गले अगाडि बढाउने बताउँदै उनले यी सबै विषयमा दुई दलको बिचमा सहमति भइसकेको पनि बताएकी छन ।

उनले नेपाली राजनीतिको इतिहासमा पहिलो पटक यसरी दलहरू कुनै विषयमा बसेर अक्षर अक्षर केलाएर छलफल गरि सहमति गरेको पनि बताएकी छन । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री आरजु मङ्सिर १३ गते चीन भ्रमणमा गएकी थिइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मङ्सिर १७ गतेदेखि हुन लागेको चीन भ्रमणको तयारी र एजेन्डाको विषयमा छलफल गर्न उनी चीन पुगेकी थिइन् । चीनमा हिजो त्यहाँका विदेश मन्त्री यीलाई भेटेर छलफल गरेकी थिइन् ।

उनीहरू बिच नेपाल चीन सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण र त्यस अवसरमा हुने दुई देशबिचको सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो । सो भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री आरजुले चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा पनि दिइन् ।

वार्ताका क्रममा चीनको ७५ औँ स्थापना दिवस र आगामी वर्ष नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवका अवसरमा विदेशमन्त्री यीमार्फत् चीन सरकार र चिनियाँ नागरिकलाई मन्त्री आरजुले बधाई दिएका थिइन् ।

मन्त्री आरजुले पछिल्लो समय नेपाल चीन सम्बन्धमा उल्लेखनीय उपलब्धिहरू हासिल भएका र यसका कारण सम्बन्ध थप बलियो बन्दै गएको बताउँदै चीन सरकारले चीन भ्रमण गर्ने नेपाली नागरिकहरूलाई हालै भिसा शुल्क नलाग्ने घोषणा गरेकोमा चीन सरकारलाई धन्यवाद दिएकी थिइन् ।

त्यसैगरी नेपाल–चीनबिचका सबै परम्परागत सीमा नाका पुनः नियमित रूपमा सञ्चालनमा आइसकेका र त्यहाँ दुवै देशका नागरिक, सामान र सेवाहरूको सीमापार आवागमन निर्बाध बनेकाले यसलाई थप सहज एवं प्रभावकारी बनाउन दुवै पक्षबाट महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको उनले बताइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us