काठमाण्डु, ६ मंसिर– प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
मन्त्रिपरिषद् बैठक अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने एक मन्त्रीे जानकारी दिए ।
आसन्न चीन भ्रमणका क्रममा ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआर आई) परियोजना अघि बढाउने सम्बन्धी समझदारीमा हस्ताक्षर नगर्न प्रमुख सत्ता साझेदार नेपाली काँग्रेसले दबाब दिएपछि ओलीले यसअघि बुधबार अन्तिम समयमा बैठक स्थगित गरेका थिए ।
काँग्रेस चीनले अनुदान दिन तयार भए मात्र बीआर आईमा सहमति जनाउन सकिने पक्षमा छ । गत १७ असारमा काँग्रेस केन्द्रीय समिति बैठकले अनुदानबाहेक ऋणमा बीआरआई स्वीकार गर्न नसकिने निर्णय गरेको थियो ।
सोही निर्णय देखाएर काँग्रेस नेताहरुले प्रधानमन्त्री ओलीलाई बीआरआईमा रोक्न खोजेका छन् । बुधबार राति अबेरसम्म बसेको दुई दलका शीर्ष नेताको बैठकमा बीआरआईबारे सहमति हुन सकेन ।
प्रधानमन्त्री ओली आगामी १७ मंसिरमा चीन जाँदैछन् । ओली प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण भारतबाट गर्न चाहन्थे । औपचारिक र अनौपचारिक रुपमा पटकपटक भ्रमणमा बोलाउन आग्रह गर्दासमेत भारतीय पक्षले नमानेपछि ओली चीन जान लागेका हुन् ।
चिनियाँ पक्षले भने एजेण्डा निश्चित नभएसम्म औपचारिक भ्रमण फलदायी नहुने भन्दै सुरुमा बोलाउन मानेको थिएन । तर, ओलीले बीआरआई अघि बढाउने बचन दिएपछि चीन उनलाई बोलाउन तयार भएको थयो ।
बीआर आईमा समझदारी गर्न नहुने काँग्रेसको अडानका कारण ओली अप्ठेरोमा परेका छन् ।