काठमाण्डु, ५ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफलपछि ओलीले अध्यादेश ल्याउने तयारी गरेको स्रोतले जानकारी दिएको छ ।
आइतबार राति अबेरसम्म भएको छलफलमा ओलीले विभाजन सहज हुनेगरी अध्यादेश ल्याउने विषयमा देउवाको साथ खोजेका थिए । तर, ओलीको प्रस्तावका देउवा मौन रहेको बताइएको छ । उक्त बैठकमा एमालेबाट महासचिव शंकर पोखरेल, अर्थमन्त्री समेत रहेका विष्णु पौडेल लगायत शीर्ष नेताहरूसमेत सहभागी रहेका थिए ।
यस्तै कांग्रेसबाट सभापति देउवासहित गृहमन्त्री समेत रहेका रमेश लेखक, महामन्त्री गगन थापा लगायत नेताहरू सहभागी थिए । एमालेको सचिवालय बैठकबाट ओलीले अध्यादेश ल्याउनका लागि म्यान्डेट पाएसँगै देउवासँग छलफल गरेको बताइएको छ । स्रोतले भन्यो, ‘अध्यादेश ल्याउने विषयमा प्रधानमन्त्री ओली र देउवाजीबिच छलफल भएको हो ।
ल्याउने वा नल्याउने विषयमा ओलीजीलाई कुनै स्वीकृति दिइएको छैन ।’यद्यपि ओलीले निकटस्थसँग सोमबार बस्ने मन्त्रिपरिषद् बैठकमा अध्यादेश ल्याउने बताएका छन् ।
ओलीले २० प्रतिशत केन्द्रीय समिति सदस्य वा संसदीय दलको सदस्य सङ्ख्या पुगेमा दल विभाजन गर्न सकिने गरी अध्यादेश ल्याउन ड्राफ्ट तयार गरेको स्रोतले जानकारी दिएको छ ।
यसैबिच ओलीले जसरी पनि अध्यादेश ल्याउने तयारी गरेपछि कांग्रेस महामन्त्री गगन थापाले सभापति देउवासँग चासो व्यक्त गरेका छन् । देउवा र थापाबिच भेटवार्ता भएको ठाउँ गोप्य राखिएको छ । यहीबीचमा कांग्रेस नेता शेखर कोइरालाले भने अध्यादेशको विरोध गरेका छन् ।