जनता के चाहन्छन् एमालेलाई थाहा छ, कसैले सिकाउनु पर्दैनः शंकर पोखरेल

काठमाण्डु टुडे २०८१ कार्तिक ५ गते १३:०० मा प्रकाशित

काठमाण्डु, ५ कात्तिक- एमाले महासचिव शंकर पोखरेलले जनता के चाहन्छन् भन्ने कुरा आफ्नो पार्टीलाई राम्रोसँग थाहा भएको दाबी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले एमालेको भविष्यबारे अरु पार्टीका नेता कार्यकर्ताले चिन्ता लिनुनपर्ने बताए । एमालेको चिन्ता नगरी आफ्नो पार्टी निर्माणमा लाग्न पोखरेलको सुझाव छ ।

पोखरेलले कुन पार्टी कस्तो भन्ने कुराको परीक्षण सामाजिक सञ्जालले नभई आवधिक निर्वाचनले गर्ने तर्क गरे ।

‘यतिबेला फरक पार्टीका नेता र कार्यकर्ताहरूले नेकपा एमालेको भविष्यका बारेमा चिन्ता गर्दै सामाजिक सञ्जालमा अनेकन् सुझाव दिइरहेका छन् र उसले गरेका निर्णयहरूको कटुआलोचना गरिरहेका छन् । राजनीति गर्नेहरूले आ-आफ्नो पार्टी राम्रो बनाउन लागे त अरुका बारेमा चिन्ता गर्नै पर्दैन नि’, पोखरेलले लेखेका छन् ।

पोखरेलले राष्ट्रको आवश्यकता के हो भन्ने एमालेलाई राम्ररी थाहा भएको समेत बताए ।

‘नेकपा एमालेलाई कस्तो बनाउने नेकपा एमाले जनलाई नै छोडिदिनु न । जनता के चाहन्छन् ? र राष्ट्रको आवश्यकता के हो ? नेकपा एमालेलाई राम्ररी थाहा छ । जनस्तरका सुझाव ग्रहण गर्नका लागि नेकपा एमालेले मिसन ग्रासरुट र मध्यपहाडी लोकमार्ग आधारित झुलाघाट चिवाभञ्ज्याङ यात्रा गरेकै हो । भविष्यमा पनि जनस्तरमा पुग्ने योजना बनाएकै छ,’ उनले लेखेका छन् ।

व्यवसायी मीनबहादुर गुरूङसँग पार्टी कार्यालय बनाउन कीर्तिपुरमा ११ रोपनी जग्गा दान लिएको विषयमा एमाले नेतृत्वको पार्टीभित्र र बाहिरसमेत चर्को विरोध भइरहेका बेला पोखरेलको यस्तो भनाइ आएको हो ।

एमाले सचिवालयले आइतबार मात्र जग्गा दान लिएकामा विरोध गरेको भन्दै पूर्वउपाध्यक्ष भीम रावल, स्थायी समिति सदस्य डा. बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनासंग स्पष्टीकरण सोधेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us