काठमाण्डु, ४ कात्तिक– प्रधानमन्त्री केपी ओलीले बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहत र पुनः स्थापनाको काममा सरकार ढृढ र सक्रिय रहेको बताएका छन् ।
आइतबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग हस्तान्तरण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आएका विभिन्न संस्थाका प्रमुख र प्रतिनिधिहरूलाई धन्यवाद दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका छन् ।
उनले मनसुनजन्य विपदबाट प्रभावितलाई छिटोछरितो रूपमा राहत वितरण गरिने प्रतबिद्धता जनाए ।
प्रधानमन्त्री ओलीले विपदलगत्तै सुरक्षा निकायसहित सबै अंगले प्रभावकारी काम गरेको बताए । गत वर्ष जारकोट केन्द्रबिन्दु भई गएको भूकम्पका प्रभावितलाई ढिलै भए पनि दोस्रो किस्ता दिइएको उल्लेख गरे ।
त्यस क्रममा नेपाल आयल निगमबाट तीन करोड, युनिलिभर कम्पनीबाट ३० लाख, माछापुछ्रे बैंकबाट २५ लाख र पूर्व राष्ट्रसेवक कर्मचारी संगठनबाट एक लाख रुपैयाँ कोषमा हस्तान्तरण भएको थियो ।