काठमाण्डू, ४ कात्तिक-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा कार्यरत नेपाल प्रहरीका एसपी कमल थापा मुख्यालय तानिएका छन् ।
हनी ट्र्यापमा संलग्न आपराधिक गिरोहसँग साँठगाँठ देखिएपछि थापालाई प्रहरी प्रधान कार्यालय तानिएको हो ।
एसपी थापामाथि प्रधान कार्यालयको उजुरी तथा छानबिन शाखाले छानबिन गरिरहेको छ ।
युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउन खोजेको आरोपमा
यसअघि प्रहरी प्रभाग भैंसेपाटीकी प्रहरी निरीक्षक बिनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । शाही हाल फरार छिन् । कन्चनपुरमा थापा मातहत काम गरेकाले उनीहरुको सम्बन्ध राम्रो थियो । सोही कारण सुनसरीको घटना भैंसेपाटी प्रभागमा दर्ता गरिएको प्रहरीको छानबिन प्रतिवेदनले औंल्याएको छ ।
उक्त प्रकरणमा गत ९ असोजमा भैंसे पाटी प्रहरी प्रभागका सहायक हवल्दार महेन्द्र हमाल, सुनसरी इटहरीकी सुष्मा विक, ताज स्लाम र भीमादेवी थापा पक्राउ परेका थिए । घटनामा संलग्न रहेको आरोप लागेका इन्सपेक्टर शाही र इटहरीका दर्शन पोखरेल फरार छन् ।
उनीहरुविरुद्ध आपराधिक लाभ र संगठित अपराध मुद्दामा अनुसन्धान भइरहेको ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले जानकारी दिए ।
एसपी थापा र हनी ट्रयापका मुख्य योजनाकार ताज स्लामबीच कुराकानी हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
ताजको योजनामा बलात्कारमा फसाइदिने धम्की दिएर सुनसरीकै एक व्यवसायीबाट ३० लाख रुपैयाँ असुल गरिएको थियो ।
ललितपुर प्रहरीका डिएसपी नरहरि अधिकारी नेतृत्वको समितिले ती व्यवसायीबाट २० लाख रुपैयाँ असुल गरिएको दिन एसपी थापा र हनी ट्रयापका मुख्य योजनाकार ताज स्लामबीच अन्तर्राट्रिय विमानस्थल बाहिरको एक रेष्टुरेन्ष्टमा गत ७ असोजको साँझ साढे ६ बजे भेट भएको प्रतिवेदनमा उल्लेख गरेको छ । उनीहरुबीचको भेटघाटको भिडियो फुटेज समितिले प्रतिवेदनसँगै बुझाएको छ ।
सोही आधारमा समितिले एसपी थापामाथि अनुसन्धान गर्न सिफारिस गरेको छ । उनीहरुबीच त्यसअघि पनि टेलिफोन संवाद हुने गरेको खुलेको छ ।