पूर्ववडाअध्यक्ष र प्रहरी नै अपहरणमा संलग्न

काठमाण्डु टुडे २०८१ कार्तिक ४ गते १५:०५ मा प्रकाशित

दाङ, ४ कात्तिक- अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले प्यूठान नगरपालिकाका पूर्ववडाध्यक्ष लीलासिंह केसीसहित पाँच जना पक्राउ गरेको छ ।

नमस्ते यातायात प्रालिका अध्यक्षसमेत रहेका पूर्ववडाअध्यक्ष केसीसहित दिलबहादुर दसौंदी, सन्तोष दसौंदी,  प्रितम गिरी र शरद गिरीलाई पक्राउ गरिएको  दाङ प्रहरीले जनाएको छ ।

पक्राउ परेकामध्ये सन्तोष दसौँदी जिल्ला प्रहरी कार्यालय बाँकेको अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी हुन् ।

प्युठान प्रहरीले  माण्डबी जिल्लाको माण्डबी गाउँपालिकाको देवीस्थल भन्ने स्थानबाट उनीहरूलाई पक्राउ गरी दाङ प्रहरीको जिम्मा लगाएको हो ।

उनीहरुमाथि बबई गाउँपालिका-६ दाङका ३७ वर्षीय मोहन बुढाथोकी र तुलसीपुरका माधव पोखरेललाई अपहरण गरी प्युठान पुर्‍याएको आरोप छ ।

बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले दसौँदी दशैंका लागि घर बिदामा प्यूठान गएका थिए ।

प्रहरीका अनुसार लेनदेन विवादमा सो समूहले बुढाथोकी र पोखरेललाई अपहरण गरेको हो । अपहृत  दुई जनालाई प्रहरीले उद्धार गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us