काठमाण्डु, २३ असोज– नेपाल टेलिकमको मोबाइल सेवाको नेटवर्कमा समस्या देखिन सुरु भएको छ । आज बिहान केहीबेर नेपाल टेलिकमको मोबाइल फोन नलाग्ने र एसमएम नजाने लगायतका समस्या देखिएको टेलिकले जानकारी दिएको छ ।
आज (बुधबार) बिहान ११ बजेपछि टेलिकमका विभिन्न स्थानमा नेटवर्कहरुमा सेवा प्रभावित भएका थिए । प्रणालीमा समस्या आउँदा केहीबेर नेटवर्क प्रभावित भएको टेलिकमका प्रवक्ता हरि ढकालले जानकारी दिएका छन ।
उनले भने, ‘समस्या समाधान गरेर सेवा सञ्चालनमा ल्याएका हौं ।’ गत १० असारमा पनि टेलिकमको टेलिफोन नेटवर्कमा समस्या आएको थियो । नेपाल टेलिकमको सेवामा पटक–पटक यस्तो समस्या आउने गरेको छ ।
यसले सेवाग्राहीहरु मर्कामा पर्ने गरेका छन् । सेवामा समस्या आएकोबारे टेलिकमले वेबसाइट र सामाजिक सञ्जालमा समेत कुनै जानकारी दिने गरेको छैन ।