काठमाण्डु, २३ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो र दोस्रो दलको सरकार बनाउनु नै संकटको संकेत भएको बताएका छन ।
आज (बुधबार) विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको भेटमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले भनेका छन्, ‘पहिलो र दोस्रो दलको सरकार बनाउनु नै संकटको संकेत हो । सामान्यतया संसदीय लोकतन्त्रमा यस्तो हुन्न ।’
प्रचण्ड नेतृत्वको सरकार ढालेर कांग्रेस–एमालेले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाएका छन् । गत असार मध्यराति कांग्रेस–एमाले बीच सात बुँदे समझदारी भएको थियो ।
सोही समझदारीका आधारमा संघीय संसदको सबैभन्दा ठूलो दल कांग्रेस र दोस्रो ठूलो दल एमालेले सरकार बनाएका हुन् । कांग्रेस र एमाले बीच समझदारी भएपछि एमालेले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
त्यसपछि प्रचण्डले गत असार २८ गते प्रतिनिधि सभामा विश्वासको मत मागेका थिए । प्रचण्डले विश्वासको मत पाउन नसकेपछि उनी नेतृत्वको सरकार ढलेको थियो ।
संसदको पहिलो र दोस्रो ठूलो दलले सरकार बनाउँदा नेपालको संविधान २०७२ मा आवश्यक संशोधन गर्ने सहितका एजेण्डा अगाडि सारेका छन् । तर, के संशोधन गर्ने ठोस रुपमा प्रस्तावित भएको छैन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने अहिले संविधान संशोधन नभइ कार्यान्वयन आफूहरुको प्राथमिकता रहेको बताएका छन ।