काठमाण्डु, २३ असोज– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो दल फेरि विभाजन गराउने षड्यन्त्र भइरहेको बताएका छन् ।
काठमाण्डुको ललितपुरस्थित होटल हिमालयमा बुधबार प्रमुख सञ्चार माध्यमका सम्पादकहरुसँगको भेटमा उनले आफ्नो दल फुटाउने कोसिस भइरहेको बताएका हुन् ।
माओवादीलाई फेरि फुटाउने र अझै कमजोर बनाउने षड्यन्त्रले मुलुकको राजनीतिक संकट थप चुलिने उनको भनाइ थियो । आफूले र आफ्नो दलले विगतदेखि नै राष्ट्रिय स्वाधीनता, आत्मनिर्णयको अधिकार र जनताको अधिकारका निम्ती लडदै आएको र अझै त्यो भूमिकाबाट पन्छन नचाहेको उनले उल्लेख गरे ।
आफू नेतृत्वको सरकारले गरेका सुधार प्रयास नपचेकाहरुले पार्टी फुटाउन प्रयास गरिरहेको दाबी उनले गरे ।
‘माओवादी पार्टी अहिले संख्यात्मक रुपले बलियो छैन । ३२ सिट मात्रै छ । तर, माओवादी पार्टी र त्यसको नेतृत्वको सरकारले पछिल्लो चरणमा जे सुधार गर्ने प्रयास ग-यो, त्यो केहीलाइ पचेन । पचेको छैन । त्यो सधैलाई महसुस भएकै छ’, उनले भने, ‘माओवादी पार्टीलाई फेरि एकपटक फुटाउनुप¥यो भन्नेमा धेरै ठूल्ठूला शक्ति र पार्टी लागेको कुरा तपाईंहरुले पनि केही केही त महसुस गर्नुभएकै होला । मलाई थाहा छ ।
तर माओवादी पार्टी धेरै कमजोर बनाउने कुराले देशको आन्तरिक राजनीतिक संकटलाई चुल्याउने मात्र काम गर्छ । मैले त भोगिराखेकै छु । निकै नै ठूलो एक्सरसाइज छ । यति सानो पार्टीलाई पनि सिध्याउनैपर्ने । मैले त्यसको प्रतिवाद गर्नुपर्ने भएको छ र प्रतिवाद गरिनै राखेको छु ।’
माओवादी फुट्योफुट्यो फुट्नै लाग्यो भन्ने हल्ला धेरै चलेपछि त्यसको प्रतिवादस्वरुप स्थायी समिति बैठकले हाम्रो पार्टी फट्दैन भन्नुपर्ने अवस्था आएको उनले बताए ।
नेपालको इतिहासमा भएका राम्रा नराम्रा सबै कामको जिम्मा लिँदै आएको र फेरि पनि लिन तयार रहेको भन्दै उनले नेपाल राष्ट्रको स्वाधीनता, स्वतन्त्रता, देशको आन्तनिर्णयको अधिकार रक्षा तथा नेपाली जनताको अधिकारका निम्ति भएका क्रान्ति र आन्दोनको रक्षा तथा त्यसमार्फत जनतालाई सकारात्मक परिणम दिने कुराबाट आपू कहिल्यै नपन्छिने प्रचण्डको स्पष्टोक्ति थियो ।