काठमाण्डु, २३ असोज– नेपालीहरुको महान चाड बडादसैँ सुरु भएसँगै काठमाण्डु उपत्यकाबाट बडादसैँ मनाउन दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिन सुरु गरेका छन ।
पछिल्लो साता काठमाण्डु उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन र यात्रीको चाप बढेको काठमाण्डु उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीले जानकारी दिएका छन । विगत तीन दिनदेखि दैनिक एक लाखको हाराहारीमा यात्री उपत्यकाबाट बाहिरिएको उनले जानकारी दिएका छन ।
उनले भने, ‘आइतबार र मङ्गलबारको तुलनामा सोमबार र आज यात्रा गर्नेको सङ्ख्या बढेको छ ।’ दैनिक सरदर ३० हजार मानिस राजधानी प्रवेश गरेका छन् ।
बसपार्क, कलङ्की, बल्खु, कोटेश्वर र सीतापाइलामा सवारी र यात्रीको बढे पनि गत वर्षको दसैँमा जस्तो नाका पार गर्न घण्टौँ प्रतीक्षा गर्नु नपर्ने नायब उपरीक्षक कार्कीले जानकारी दिएका छन ।
अहिले अरनिको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र दक्षिणकाली–हेटौँडा र कान्ति राजमार्ग भएर यात्रीहरू आफ्ना गन्तव्यतर्फ प्रस्थान गरीरहेका छन ।