नेपाल नयाँ शीतयुद्धको ‘इपिसेन्टर’ बन्ने खतरा छ: अध्यक्ष प्रचण्ड

काठमाण्डु टुडे २०८१ असोज २३ गते ९:२८ मा प्रकाशित

काठमाण्डु, २३ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल नयाँ शीतयुद्धको ‘इपिसेन्टर’ बन्ने खतरा रहेको दाबी गरेका छन ।

अमेरिका र चीनबिचको प्रतिस्पर्धामा नेपाल इपिसेन्टर बन्ने खतरा दिन प्रतिदिन बढ्दै गएको प्रचण्डले आङ्कलन रहेको छ । आज बुधबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा प्रचण्डले यस्तो बताएका हुन ।

उनले दक्षिण एसियामा नै विगत केही समयदेखि ठुलो राजनीतिक अस्थिरताको भुमरीमा जस्तो सरकार बन्ने र भत्किने क्रम जस्तो किसिमले देखा परेको उल्लेख गरे ।

उनले यसमा श्रीलंका र बंगलादेशको उदाहरण प्रस्तुत गरे । उनले नेपालमा चाहिँ सरकार परिवर्तन हुने विषयमा आन्तरिक कारण प्रधान रहेको बताए । अध्यक्ष प्रचण्डले भने, ‘हाम्रोमा चाहिँ हाम्रै मौलिकतामा छ भन्छु म ।

हाम्रोमा समीकरण बन्ने र भत्किने कुरा अन्तर्राष्ट्रिय कारणले भयो भनेर भन्नु अत्युक्ति हुन्छ । यो हाम्रो आन्तरिक राजनीतिक डाइनामिक्सका कारणले भएको छ । तर, दिनप्रतिदिन अन्तर्राष्ट्रिय दबाब र चलखेल बढ्दै जाने आङ्कलन गर्न सकिन्छ ।’

प्रचण्डले विश्व परिस्थिति नयाँ ढङ्गले अघि बढेको जिकिर गरे । केहीले तेस्रो विश्वयुद्ध सुरु भइनै सक्यो भनेर प्रचार गरिरहेको र ठुलै राजनीतिज्ञहरूले तेस्रो विश्वयुद्धको संघारमा रहेको भन्न थालेको सुनाए । यसको असर सबैतिर परेको उनको भनाई छ ।

‘हाम्रो देशको अवस्थितिको कारणले, चीन र भारतजस्ता विशाल छिमेकीको बिचमा हुनुको कारणले विगतदेखि हामीसँग चुनौती र अवसर पनि रहँदै आएका छन् । यो बिचमा चुनौती बढ्दै गएको अनुभूति गरेका छौँ ।

विश्वमा आर्थिक शक्ति र विश्व शक्ति बन्ने प्रतिस्पर्धामा चीन र अमेरिका सबैभन्दा अगाडि छन् । रुस पनि सुपरपावरको हैसियत गुम्न नदिनका लागि प्रयास गर्ने कुरा पनि स्वाभाविक छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us