रवि लामिछानेले फेसबुक लाइभमार्फत कार्यकर्तालाई भनेः जतिसुकै बेला ममाथि अन्याय हुन सक्छ, खबरदारीका लागि तयार रहनु

काठमाण्डु टुडे २०८१ असोज ८ गते २०:१३ मा प्रकाशित

Screenshot

काठमाण्डु, ८ असोज- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूविरुद्ध जतिसुकै बेला सरकारले षड्यन्त्र र अन्याय गर्न सक्ने बताएका छन् ।
मंगलबार साँझ फेसबुक लाइभमार्फत उनले आफूविरुद्ध सरकार षड्यन्त्रमै रहेकाले प्रतिरोधका र खबरदारीका लागि अलर्ट रहन कार्यकर्तालाई आग्रह गरे ।
सहकारीको बचत अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय समितिको प्रतिवेदनले आफूले सहकारीबाट ऋण नलिएको स्पष्ट गर्दासमेत सरकार र सत्तारुढ दलका नेताहरु संगठित अपराध वा अरु केही बहानामा फसाउन सकिन्छ कि भन्ने प्रयासमा रहेको उनको भनाइ थियो । लामिछानेले आफू बयानका लागि पोखरा, काठमाण्डु जान वा हिरासतमा थुनिन तयार रहेको भन्दै मिडिया, प्रहरी र अदालतको ट्रालय बन्द गर्न सरकारलाई उनले चेतावनी दिए ।

आफूलाई दसैंको समयमा पक्राउ गर्ने नयाँ हल्ला सरकारका मानिसहरुले चलाएको पनि उनले बताए । संसदीय समितिको प्रतिवेदन, समितिका सभापतिले सार्वजनिक सञ्चार माध्यममा दिएको अन्तर्वार्ता, प्रधानमन्त्री, महान्यायाधिवक्ता कार्यालय, विभिन्न जिल्लाका प्रहरीजस्ता निकाय र सहकारी ठगी आरोपमा पक्राउ परेकाहरुको बयानमा आधारमा सहकारी ठगीमा आफ्नो संलग्नता पुष्टि नभएको स्पष्ट भइसकेको लामिछानेको भनाइ थियो ।

लामिछानेले आफू ग्यालेक्सी टेलिभिजनमा कार्यरत रहँदासम्मको अवधिभित्र सहकारीहरुबाट गोर्खा मिडयामा आएको रकम पैसा गलत ढंगले, कालोबजारीमार्फत र अनधिकृत रुपमा आएको रहेछ भने नैतिक जिम्मेवारी लिन तयार रहेको बताए । लामिछानेले संख्यामा कमजोर भए पनि इमानमा कमजोर नभएकाले षड्यन्त्रहरुसँग नडराउने उल्लेख गरे ।
आफूलाई सहकारी ठगका रुपमा स्थापित गर्न खोज्नेहरुलाई सोही प्रकरणमा मुछिएका अरु व्यक्ति तथा गिरीबन्धु टी स्टेट र बालमन्दिरसहित सरहकारी जमिन हडपिएको घटनाको अनुसन्धान पनि तीव्र रुपमा गर्छन् कि गर्दैनन् भन्नेबारे जिज्ञाशा रहेको उनले बताए ।
उनले आफू ठगीमा संलग्न नभएको पुष्टि भएसँगै राजनीतिक आग्रहपूर्वाग्रह राखेर ससाना गल्तीमा फसाउन सकिन्छ कि भनेर खोज्न बन्द गरेर सहकारीहरुमार्फत ठगिएको सर्वसाधारण बचतकर्ताको ८७ अर्ब रकम फिर्ता गर्ने काममा लागि सरकार र सत्तारुढ दलका नेतालाई उनले सुझाव दिए । आफूलाई फसाउन नसकिएको इगो साँध्न प्रहरी, मिडिया र अदालत प्रयोग गरेर आतंकित पार्ने अन्यायको शिलशिला बन्द गर्ने उनले आग्रह गरे ।
सरकारले सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्यवन गर्न प्रहरीलाई निर्देशन दिएलगत्तै लामिछानेलाई पक्राउ गर्ने तयारी भएको चर्चाबीच उनले आइतबार पार्टी कार्यालय वनस्थलीमा कार्यकर्तालाई जम्मा गरेर पक्राउ गरिए प्रतिवाद गर्ने चेतावनी दिएका थिए ।
समितिले कारबाही सिफारिस गरेका नेपाल प्रहरीका पूर्वडिआईजी छविलाल जोशी पक्राउ परेपछि उनले आफूलाई पनि पक्राउ गर्ने तयारी भएको भन्दै उपत्यकामा रहेका कार्यकर्तालाई पार्टी कार्यालयमा भेला गराएका थिए ।

सांसद सूर्यबहादुर थापा नेतृत्वको संसदीय समितिले गत साता प्रतिनिधिसभामा बुझाएको सहकारीको बचत अपचलनसम्बन्धी छानबिन प्रतिवेदनमा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेको सहकारीबाट गोर्खा मिडियामा रकम ल्याउन प्रत्यक्ष भूमिका नदेखिएको स्पष्ट गरेको थियो ।

तर, विभिन्न ५ वटा सहकारीमार्फत गोर्खा मिडियाका तत्कालीन अध्यक्ष जितेन्द्रबाबु राई (बिजी) ले ल्याएको करिब  ६५ करोड रुपैयाँ रकम खर्च गर्नमा भूमिका देखिएको भन्दै आवश्यक कानूनी कारबाही गर्न सिफारिस गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us