
एजेन्सी– लेबनानमा इजरायलले आक्रमण गर्दा एकैदिन ४९२ जनाको मृत्यु भएको छ । अनुसार मारिनेमा ३५ बालबालिका र ५८ महिलाहरु रहेको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आक्रमणमा १ हजार ६४५ जना घाइते भएका छन् । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान रहेको छ ।
इजरायली सेनाले हिजबुल्लाहका १ हजार ३०० आश्रयस्थलमा आक्रमण भएको त्याहाँका सञ्चारमाध्यमहरुले बताएका छन । यो आक्रमण गत अक्टुबर ७ मा हमासविरुद्ध युद्ध सुरु गरेयताकै भयानक भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । इजरायलले हमासविरुद्ध आक्रमण सुरु गरेपछि हिजबुल्लाहले हमासलाई सघाउने घोषणा गरेको थियो ।
त्यसैले इजरायलले हिजबुल्लाहलाई पनि निशाना बनाएको हो ।लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादले इजरायलको आक्रमणबाट सर्वसाधारणका घर, मेडिकल सेन्टर, एम्बुलेन्स र कारहरुमा पनि क्षति पुगेको समेत अन्तराष्ट्रिय सञ्चारमाध्यम हरुले जानकारी दिएका छन । इजरायली क्षेत्रमा हिजबुल्लाहले दुई सयभन्दा बढी रकेट प्रहार गरेको थियो ।
इजरायली पक्षका दुई जना घाइते भएको इजरायली सेनाले जनाएको छ । इजरायल र लेबनानका हिजबुल्लाह लडाकुहरुबीच आक्रमण सुरु भएपछि विश्वका केही देशहरुले दुवै पक्षलाई संयमित हुन आह्वान गरेका छन् । यो संघर्षले ठूलो युद्धको रुप लिन सक्ने चिन्ता व्यक्त हुँदै आएको छ ।