
एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिशोध नलिन इरानलाई चेतावनी दिएका छन । इरानका प्रमुख सैन्य स्थलमा गरिएको अमेरिकी आक्रमणपछि ट्रम्पले प्रतिशोध नलिन इरानलाई चेतावनी दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । सँगै राष्ट्रपति ट्रम्पले इरानमा सत्ता परिवर्तनको प्रसंग पनि उठाएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले भनेका छन, ‘सत्ता परिवर्तन भन्ने शब्द प्रयोग गर्नु राजनीतिक रूपमा ठीक नहुन सक्छ । तर, यदि वर्तमान इरानी सरकारले इरानलाई फेरि महान बनाउन सकेन भने किन शासन परिवर्तन नहुनुपर्ने ?’ ट्रम्पको यो अभिव्यक्ति उपराष्ट्रपति जेडी भान्स र रक्षा सचिव पिट हेग्सेथले इरानको सरकारलाई सत्ताच्युत गर्ने योजना नभएको जोड दिएपछि आएको हो ।
‘यो मिसन सत्ता परिवर्तनको बारेमा थिएन र छैन, हेग्सेथले पेन्टागनमा पत्रकारहरूसँग भने, ‘यो मिसनलाई इरानको आणविक कार्यक्रमलाई लक्षित गर्ने ‘सटिक अपरेशनु हो ।’ एनबीसीको, ‘मिट द प्रेस विथ क्रिस्टेन वेल्करु मा भान्सले भने, ‘हाम्रो दृष्टिकोण स्पष्ट छ, हामी सत्ता परिवर्तन चाहँदैनौँ । हामी यो लम्ब्याउन वा योभन्दा बढी विस्तार गर्न चाहँदैनौँ । हामी उनीहरूको आणविक कार्यक्रम समाप्त गर्न चाहन्छौँ । र, त्यसपछि इरानीहरूसँग दीर्घकालीन सम्झौताका विषयमा कुरा गर्न चाहन्छौँ ।’
‘अपरेशन मिडनाइट ह्यामरु वाशिंगटन र फ्लोरिडाको टाम्पामा रहेको अमेरिकी सेनाको मध्यपूर्व सञ्चालन मुख्यालयमा थोरै व्यक्तिहरूलाई मात्र थाहा थियो । सातवटा बी–२ बमवर्षक विमानले १८ घण्टा उडान गरी इरानमा १४ बंकर९बस्टर बम खसालेको संयुक्त चिफ अफ स्टाफका अध्यक्ष जनरल ड्यान केनले बताए ।
संयुक्त राष्ट्रसंघको आणविक निगरानी निकायका प्रमुख राफेल ग्रोस्सीले अमेरिकी हवाई आक्रमणले इरानको फोर्डोस्थित युरेनियम सम्वर्द्धन स्थलमा क्षति पुर्याएको स्पष्ट भए पनि भूमिगत क्षतिको मूल्यांकन अझै भइनसकेको बताए ।
एक वरिष्ठ इरानी स्रोतले रोयटर्सलाई बताएअनुसार, फोर्डोमा रहेको अधिकांश उच्च सम्वर्धित युरेनियम (जुन इरानको ६० प्रतिशतसम्म शुद्धीकृत युरेनियम उत्पादन गर्ने मुख्य स्थल हो) अमेरिकी आक्रमणअघि नै अज्ञात स्थानमा सारिएको थियो ।