काठमाण्डु, ६ असोज– संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्यूयोर्क पुगेका एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुने पक्का भएको छ ।
स्थानीय समय अनुसार सोमबार बिहान सवा तीन बजे ओली–मोदी भेट तय भएको परराष्ट्र मन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ। मोदी बसेको होटलमा पुगेर ओलीले करिब आधा घण्टा भेटवार्ता गर्ने तय भएको स्रोतले जानकारी दिएको छ ।
यो भेट तय गर्नका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवासहित परराष्ट्र मन्त्रालयका अधिकारी र संयुक्त राष्ट्र संघका नेपाल प्रतिनिधिसमेत सक्रिय रहेका थिए । ओली प्रधानमन्त्री भएपछि मोदीसँग हुन लागेको यो भेटलाई चासोका साथ हेरिएको छ ।
प्रधानमन्त्री ओलीले अन्य देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरुसँग पनि साइडलाइन भेटवार्ता गर्ने तय भएको छ । यसअघि भदौ तेस्रो साता बिम्स्टेक शिखर सम्मेलनको क्रममा ओलीले मोदीसँग भेट्ने तयारी गरे पनि थाइल्याण्डको राजनीतिक उतारचढावका कारण सम्मेलन स्थगित भएको थियो ।