प्रधानमन्त्री ओलीलाई रविले भनेः उपसभामुख हटाउन लागेर गलत गर्दै हुनुहुन्छ

काठमाण्डु टुडे २०८१ भदौ २६ गते १७:१८ मा प्रकाशित

काठमाण्डु, २६ भदौ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपसभामुखलाई हटाउने कदम नचाल्न आग्रह गरेको बताएका छन । आज बुधबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन ।

उनले मंगलबार आफूले प्रधानमन्त्री ओलीलाई भेटेर उपसभामुखको विषयमा भइरहेको चर्चा परिचर्चाहरूको बारेमा वास्तविकता के हो भनि प्रश्न गरेको बताएका हुन् । उनले आफूले यदि उपसभामुखलाई हटाउन लागेको हो भने गलत गर्दै हुनुहुन्छ भनेर सचेत गराएको पनि बताएका छन । उनले दुई तिहाइको शक्ति भएको सरकारको प्राथमिकताहरू धेरै भएको भन्दै शक्तिको सदुपयोग गर्न आग्रह गरेका छन ।

उनले प्रधानमन्त्रीले आफू सो विषयमा छलफलमा रहेको जानकारी दिएको बताए छन । उनले भने, ‘संसद्को अंकगणित भन्दा धेरै जनता बाहिर छन् । कांग्रेस र एमालेले प्राप्त गरेको मत भनेको भोट हाल्नसक्ने मतदाताको ३० प्रतिशत मात्रै हो ।

७० प्रतिशतको प्रतिनिधित्व रास्वपा लगायतका दलहरूले गर्छन् यो हेक्का रहोस् । ७० प्रतिशतलाई ३० प्रतिशतले च्यालेन्ज नगरे हुन्छ । उहाँहरूको यो आत्मघाती गोल हुन्छ ।

आफ्नै पोष्टमा गोल हान्ने विचार गर्नुभएको छ भने मेरो भन्नु के छ र ?’ सभापति लामिछानेले यदि उपसभामुखलाई हटाइए सत्तारुढ दलहरूका लागि आत्मघाती हुने चेतावनी समेत दिएका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us