काठमाण्डु, २६ भदौ– एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रतिनिधिसभाका सभामुखलाई नियमापत्तिमाथि निर्णय गर्ने अधिकार रहेको भन्दै हिंसा शब्दबारे सभामुखको निर्णयमा सभामुखमाथि नै आक्षेप लगाउनु दुःखद भएको बताएका छन ।
आज (बुधबार) बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेको हिंसा शब्द असंसदीय नभएको रुलिङ गरेका थिए । त्यसमा माओवादी केन्द्रका सांसदहरूले आपत्ति जनाउँदै सभामुखमाथि नै प्रश्न गरेका थिए ।
त्यसपछि एमाले सचेतक बर्तौलाले भने, ‘नियमापत्तिमाथि निर्णय गर्ने अधिकार सभामुखमा रहेको कानुनमै रहेको छ । सभामुखको चियरबाट जे निर्णय आयो त्यसमा सभामुखमाथि नै आक्षेप लगाउने गरी जसरी प्रस्तुति भयो यो दुःखद छ, ‘संसद्को इतिहासमा जे शब्द सभामुखप्रति प्रयोग गरेकोमा दुःख व्यक्त गर्छु । यस प्रकारका शब्द सम्बन्धित ध्यानाकर्षण गराउँछु ।’
बर्तौलाले सशस्त्र द्वन्द्वका क्रममा कतिपय घटनामा हिंसाका घटना समेत भएको भन्दै हिंसा र प्रतिहिंसा सबैले स्वीकारेको समेत बताए । सोही अनुसार दलहरूबिच सहमति गरेर विधेयक समेत पारित गरेको भन्दै देशलाई गलत दिशातिर लैजान नहुने पनि बताएका छन ।