बाबा रामदेवको निमन्त्रणमा भरतपुरका मेयर रेनु दाहाल भारतमा

काठमाण्डु टुडे २०८१ भदौ २३ गते १७:२० मा प्रकाशित

काठमाण्डु, २३ भदौ– चितवनको भरतपुर महानगरपालिका मेयर तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रेनु दाहाल बाबा राम देवको निमन्त्रणामा भारत पुगेकी छिन् । पूर्वप्रधानमन्त्री तथा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री समेत रहेकी दाहाल पतञ्जलि योग पीठका रामदेवद्वारा प्रवर्द्धित ‘हाम्रो स्वाभिमान ट्रस्ट’ द्वारा आयोजित तिज कार्यक्रममा सहभागी हुन भारतको राजधानी नयाँदिल्ली पुगेकी हुन् ।

कार्यक्रममा भाग लिएर उनी आइतबार स्वदेश फर्किँने दाहालको सचिवालयले जानकारी दिएको छ । सचिवालयका एक सदस्यले भने, ‘मेयरज्यू नयाँदिल्लीमा नेपालीहरूले आयोजना गरेको तीजमा भाग लिन भारत जानुभएको हो । त्यहाँ आयोजित ‘हरितालिका तीज महोत्सव २०८१’ मा सहभागी भएर आज स्वदेश फर्किँदै हुनुहुन्छ ’ ।

उक्त कार्यक्रममा रामदेव, आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण लगायतको उपस्थिति रहेको बताइएको छ । रामदेवसँग दाहाल परिवारको सम्बन्ध प्रगाढ रहेको बताइएको छ ।

२०७८ मंसिर ३ गते काठमाण्डुस्थित मण्डिखाटारमा पतञ्जलि योग पीठको उद्घाटन गर्दै प्रचण्डले सुरुमा रामदेव परम्परावादी जस्तो लागे पनि सङ्गत गर्दै जाँदा क्रान्तिकारी लागेको बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us