घुम्न जाने भन्दै सुन्दरीजल पुर्‍याएर प्रेमिकाको हत्या

काठमाण्डु टुडे २०८१ भदौ २३ गते १५:५८ मा प्रकाशित

काठमाण्डु, २३ भदौ– काठमाण्डुको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा मृत फेला परेकी युवतीको हत्या भएको खुलेको छ । हत्या भएकी महिला सिरहा घर भई काठमाण्डुको बसुन्धारा बस्दै आएकी राम दुलारी रहेको प्रहरीको जनाकारी दिएको छ ।

टाउकामा चोट देखिएपछि घटनाको अनुसन्धानलाई थप तीव्रता दिएको प्रहरीले राम दुलारीको हत्या भएको निष्कर्ष छ । गत बिहीबार सुन्दरीजल घुम्न गएका व्यक्तिले बोक्सेदहको ढुंगाको कापमा मान्छेको खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि प्रहरी वृत्त बौद्ध र जिल्ला प्रहरी परिसर काठमाण्डुबाट अनुसन्धान टोली खटिएको थियो । प्रहरी घटनास्थल मुचुल्का गरेर शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाएको थियो ।

हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाही चक्रघट्टा गाउँपालिका–३ का ४० वर्षीय रामविनय महरा र बसगरिया गाउँपालिका–५ घर भएका २४ वर्षीय सन्तोष राम महरा रहेका छन । प्रहरीका अनुसार प्रेमी रामविनय जुत्ता सिलाउने काम गर्थे भने प्रेमिका राम दुलारी ज्याला मजदुरीको काम गर्थिन् ।

उनीहरु करिब दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको प्रहरीले जानकारी दिएको छ । तर आपसी असमझदारीका कारण उनीहरुबीच पटक–पटक झगडा हुने गरेको थियो । त्यसपछि सन्तोषसँग मिलेर रामविनयले हत्याको योजना बनाएको पाइएको काठमाण्डु प्रहरी परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us