बङ्गलादेशको विषयलाई लिएर मैले उग्र बोलेको छैन: अध्यक्ष प्रचण्ड

काठमाण्डु टुडे २०८१ भदौ २३ गते १५:३८ मा प्रकाशित

काठमाण्डु, २३ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बङ्गलादेशको उदाहरण दिएर आफूले गलत नबोलेको बताएका छन । आज आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।

उनले दुईतिहाइ बहुमत छ भनेर सरकारले जे पायो त्यही नगरोस् भन्ने खबरदारी गरेको बताएका छन । उनले भने, ‘बङ्गलादेशमा पनि दुईतिहाइको सरकार थियो, यो सरकारले पनि दुईतिहाइको आडमा जे पायो त्यही नगरोस् भनेको हो, बङ्गलादेशको विषयलाई लिएर मैले उग्र बोलेको छैन ।’ प्रधानमन्त्री केपी शर्मा ओलीको ब्यवहार नै असभ्य भएको आरोप लगाउँदै उनले ओलीले लगाएको आरोपको प्रतिवाद गरे ।

प्रधानमन्त्री ओलीले प्रचण्डले असभ्य व्यवहार गरेको भन्दै लगाएको आरोपबारे सञ्चारकर्मीले सोधको प्रश्नमा उनले व्यवहार हेर्न सुझाव दिए । ‘अहिलेको प्रधानमन्त्रीज्युले कति झुट, बेइमान, अनैतिक र जालझेल गर्ने हुनुहुन्छ भन्ने कुरा मैले प्रतिनिधिसभामै भनेको थिए,’ प्रचण्डले प्रश्न गरे, ‘अगाडिबाट मुसार्ने र पछाडिबाट छुरा हान्ने काम गर्ने ओलीले गरेको तथ्य कसरी असभ्य भयो र ?’

उनले आफूले बोलेको भाषा असभ्य नभएको जिकिर गर्दै प्रचण्डले अहिले सरकार बनाउने बारेमा माओवादी केन्द्रको रुची नरहेको बताए । कांग्रेससँग मिलेर सरकार बनाउन लागेकोबारे सोधिएको प्रश्नमा उनले अहिले पार्टी बनाउनेमा केन्द्रित भएका बताए । ‘एमाले र कांग्रेसलाई यो सरकार बनाइदिएकोमा धन्यवाद पनि भनेका छौँ,’ उनले भने ‘अहिले हाम्रो सरकारमा जाने कुनै ध्यान छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us