विमानको शौचालयमा बालिकालाई थुनेपछि…

काठमाण्डु टुडे २०८१ भदौ २० गते १६:०६ मा प्रकाशित

एजेन्सी– छिमेकी देश चीनमा दुई अपरिचित महिलाले एक बालिकालाई विमानको शौचालयमा थुनेपछि हङ्गामा मच्चिएको छ । सार्वजनिक स्थलमा बालबालिकाहरूलाई कसरी तह लगाउने भन्नेबारे अनलाइनमा विवाद छेडिएको हो ।

सो घटनाको भिडियो अहिले सामाजिक सञ्जालहरुमा भाइरल भएको छ । दुई मध्ये एक महिला कोउ तिङतिङ आफैँले बालिकालाई शौचालय भित्र बोकेर लगेको भिडियो पोष्ट टिकटकको चिनियाँ संस्करण दोउयिनमा पोस्ट गरेकी थिइन् । पोस्टमा कोउले आफूलाई विमानमा रहेका अरू यात्रीलाई मद्दत गर्ने कोसिस गरेको भनेर देखाउन खोजेकी थिइन् ।

तर उनको सो पोस्टमा आलोचना व्यमपक छ । बालिकाकी हजुरआमाले ती दुई महिलालाई उनलाई सबक सिकाउन अनुमति दिएको भनेर विमान सेवा कम्पनीले पछि भनेको थियो । यो घटना अगस्ट २४ मा चुनेयाओ एयरलाइन्सको विमानभित्र भएको हो । विमान कुइयाङबाट साङहाई जाँदै थियो । बालिका हजुरआमासँग यात्रा गरिरहेकी थिइन् ।

उडानभित्र उनी रोइ कराई गर्न थालेपछि चुप लगाउन नसकेर शौचालयमा थुनिएको थियो । यो घटना भएको दुई दिनपछि एयरलाइन्सले बालिकाको हजुरआमाले नै ती दुई महिलालाई नातिनीलाई विमानको शौचालयभित्र थुन्ने अनुमति दिएको भनेर बताएको थियो । बालिकाको उमेर एक वर्षको भएको स्थानीय पत्रिकाले भनेका छन् ।

भिडियो पोस्ट गरेपछि धेरैले कोउलाई करुणा नदेखाएको र बच्चालाई दुर्व्यवहार गरेको भन्दै खोइरो खनेका छन्। यसको प्रतिउत्तरमा कोउले आफूले बच्चीलाई शान्त पारेर अरूलाई शान्ति दिन मात्रै खोजेको बताएकी थिइन् ।

बच्ची रुन थालेपछि केही यात्री आफ्नो सिट छोडेर विमानको पछाडिको सिटतिर सरेको अनि केहीले कानमा कपास खाँदेको उनको भनाइ थियो । सो भिडियोमा आलोचना ओइरिन थालेपछि कोउले आफ्नो एकाउन्टलाई अरूले हेर्न नमिल्ने बनाएकी छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us