एजेन्सी– इजरायलमा सरकारविरोधी प्रदर्शन चर्किएको छ ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकारविरुद्ध हजारौं सर्वसाधारण प्रदर्शनमा उत्रिएका छन् ।
हमास समूहले गाजामा बन्धक बनाएका ६ इजरायलीको शव फेला परेपछि सुरु भएको प्रदर्शन उग्र बन्दै गएको छ ।
इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले शनिबार दक्षिणी गाजाको रफाहस्थित सुरुङमा बन्धक बनाइएका ६ इजरायलीको शव फेला पारेको बताएको थियो ।
तेल अभिभ र जेरुसेलमसहित अधिकांश सहरमा इजरायली झण्डा बोकेर प्रदर्शनकारीहरू सडकमा निस्किएका छन् ।
प्रदर्शनकारीले बन्धकहरुको रिहाइका लागि महाससँग वार्तामार्फत सम्झौता गर्न माग गरेका छन् ।
गत ७ अक्टुबरमा इजरायलमा आक्रमण गरेको हमास समूहले इजरायली र विदेशीसहित सयौँ मानिसलाई बन्धक बनाएको थियो ।
यसैबीच आज ट्रेड युनियनहरुले बन्धकहरुको रिहाइका लागि हमाससँग सम्झौता गर्नुपर्ने माग राखेर देशव्यापी हडताल घोषणा गरेको छ ।