कार्यकर्तालाई प्रचण्डको निर्देशनः ०६४ मा हामीलाई भोट दिने मतदाता र उनीहरुका छोराछोरीको सूची तयार पार्नुस्

काठमाण्डु टुडे २०८१ भदौ ८ गते १८:०८ मा प्रकाशित

काठमाण्डु, ८ भदौ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ०६४ को संविधानसभा निर्वाचनमा आफ्नो दललाई भोट दिएका मतदाताहरुको सूची बनाउन पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।

पार्टी सम्वद्ध नुवाकोट–काठमाण्डु सम्पर्क समन्वय समितद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले ती सबै मतदाताको सूची बनाएर भेट्नुपर्ने बताए ।

विगतमा माओवादीलाई भोट दिएर पहिलो पार्टी बनाए पनि अनुभवको कमी, पार्टी विभाजन जस्ता कारण चाहेर पनि राम्रो गर्न नसकेकोबारे मतदातासँग आत्मसमीक्षा गर्ने उनको भनाइ थियो ।

‘०६४ मा हामीलाई ठूल भरोसा गरेर धेरै भोट दिनुभयो । हामीले भन्याजस्तो गर्न सकेनौं । विभाजित भयौं । हामीबाट गल्ती भयो । अहिले गल्ती सच्यायौं, एकताबद्ध भयौं । अब हामी सुशासन र तपाईहरुको पक्षमा लड्न चाहन्छौं, तपाईहरुले एकचोटी फेरि मद्दत गर्नुस् भन्नुपर्यो’, उनले भने ।

प्रचण्डले त्यतिबेला माओवादीलाई मत दिएकाहरुका छोराछोरीसमेत मतदाता भइसकेकाले उनीहरुको पनि खोजी गर्न कार्यकर्तालाई निर्देशन दिए ।

आफ्ना मतदाताका छोराछोरी काठमाण्डु वा देशबाहिर छन् भन्ने पत्ता लगाएर उनीहरुसँग अपिल गर्नुपर्ने बताए । माओवादी सशस्त्र जनयुद्धका बेला काम गरेका कार्यकर्ता र मिलिसियाको पनि खोजी गर्न पार्टीका सबै पालिका समितिलाई निर्देशन दिए ।

उनले माओवादी एकताबद्ध भएर लाग्दा ०८४ मा पुरानो हैसियत फर्काएर काँग्रेस–एमालेका भ्रष्टहरुलाई तह लगाउन सकिने दाबी गरे ।

‘हामी मिलेर अघि बढ्यौं भने ०८४ मा ०६४ को हैसियतमा फर्किएर हामीलाई संख्या देखाएर सरकारबाहिर पठाउने भ्रष्टहरुलाई कहिल्यै उठ्न नसक्ने गरी ठेगान लगाउन सकिन्छ’, उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us