ऐनमै टेकेर धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति हुन्छ: अर्थमन्त्री पौडेल

काठमाण्डु टुडे २०८१ भदौ ६ गते १९:१६ मा प्रकाशित

काठमाण्डु, ६ भदौ– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्रसम्बन्धी ऐनको दफा ७ ले निर्दिष्ट गरेको कानुनी प्रक्रिया र विधिबमोजिम अध्यक्ष नियुक्ति हुने बताएका छन । आज बिहिबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन ।

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा कसैले प्रभाव पार्न नसक्ने पनि उनले बताएका छन । मिडियामा प्रकाशित समाचारअनुसार सांसदलाई धारणा नबनाउन उनले आग्रह गरेका छन ।

बोर्ड अध्यक्ष नियुक्तिमा कुनै पार्टीका नेताले चाहेर निर्णय नहुने उनले बताए । अर्थमन्त्री पौडेलले भने, ‘सिफारिस समितिले सिफारिस गरेबमोजिम अध्यक्ष नियुक्ति हुने व्यवस्था हो, कुनै पनि पार्टी वा पार्टीका नेताले चाहेर हुँदैन ।’

सेयर बजारलाई परिपक्व, अनुशासित र दीगो रूपमा विकास गर्नुपर्छ भन्ने सरकारको धारणा रहेको पनि उनले बताए । सोसल मिडियामार्फत ग्रुप बनाएर लगानीकर्तालाई भ्रमित नगरियोस् भन्नेमा ध्यान दिइएको उनको दाबी छ ।

निश्चित पूँजी भएका कम्पनीलाई धितोपत्र बजारमा अनिवार्य सूचीकरण हुनुपर्ने चालु आवको बजेटमा गरिएकाले उत्पादनका साधनमा पहुँच बढ्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us