मैले छाड्दा नेतृत्व हस्तान्तरण भइहाल्छ जस्तो लाग्दैन: प्रचण्ड

काठमाण्डु टुडे २०८१ भदौ ६ गते १७:४९ मा प्रकाशित

काठमाण्डु, ६ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई अध्यक्ष भइरहने रहर नभएको बताएका छन ।

तर, आफूले छाड्दा नेतृत्व हस्तान्तरण वा पुस्तान्तरण भइहाल्छ भन्ने नलागेको उनको दाबी छ । बागमती प्रदेशस्तरीय प्रशिक्षणमा प्रचण्डले भने, ‘३६ वर्ष भइसक्यो ।

अब मलाई पार्टीमा अध्यक्ष भइरहने रहर छैन । अध्यक्ष भन्दा प्रचण्ड भन्ने नै ठूलो छ मेरो लागि ।’ तर अहिले नै आफूले छोड्दा नेतृत्व हस्तान्तरण वा पुस्तान्तरण भइहाल्छ जस्तो नलागेको उनले बताएका छन ।

उनले भने, ‘त्यत्तिकै कोही नेता बन्दैन, लामो कालखण्ड गुजारेर नेतृत्व स्थापित हुने हो, ‘अब केही तयारी गरेर नेतृत्व हस्तान्तरण गर्ने हो ।’ पार्टीका उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँदैछ भन्ने हल्लालाई आफूहरुले खारेज गरिसकेको पनि उनले बताएका छन ।

उनले भने, ‘उहाँको प्रयास पार्टी निर्माणको लागि हो, विभाजनको लागि होइन भन्नेमा विश्वास छ ।’ स्थायी समिति बैठकमा शर्माले राखेको मतलाई समेटेर दस्तावेज बनाउने समेत उनले जानकारी दिए ।

‘जनार्दनले राखेको मत फरक मत होइन एउटा मत मात्रै हो’ माओवादी अध्यक्ष प्रचण्डले भनेका छन्, ‘सबै मत समेटेर दस्तावेज बनाउँदैछु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us