काठमाण्डु, ६ भदौ– पूर्व शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले शिक्षक तथा प्राध्यापकले राजनीति गर्नुपर्छ र शैक्षिक क्षेत्र दलीयकरण हुनुपर्छ भन्ने अभियन्ता प्रधानमन्त्री केपी शर्मा ओली भएको दाबी गरेका छन ।
आज बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन । उनले शैक्षिक संस्थामा राजनीतिक दलको हस्तक्षेप गराउने प्रधानमन्त्रीलाई कार्यक्षमतामाथि प्रश्न किन नउठाउने भन्दै प्रश्न गरेकी छन ।
उनले बल भन्दा बुद्धि ठूलो भन्ने सानोमा पढाइ हुने भएपनि अहिले त दल ठुलो भन्ने भाष्य निर्माण भइसकेको दाबी गरेकी छन । उनले भनिन्, ‘शिक्षालयमा दल चाहिन्छ भनेर सेनापतिका रूपमा बोल्दै हिँड्ने, शिक्षक प्राध्यापकले राजनीति गर्नुपर्छ भन्दै हिँड्ने अहिलेका प्रधानमन्त्रीलाई जरोमा पनि उही टुप्पोमा पनि उही भएपछि उहाँको कार्य क्षमता भएन भनेर नभन्नुपर्ने कारण के छ ?‚’ उनले प्रश्न गरिन् ।
उनले दलीय राजनीतिकरणले निम्त्याएको दुर्दशाका कारण एउटा मन्त्रीले सामाजिक सञ्जालमा अर्को मन्त्रीसँग सुरक्षा माग्नुपर्ने अवस्था आइपरेको पनि बताएकी छन ।