जाजरकोटका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्न बस्नेतको माग

काठमाण्डु टुडे २०८१ भदौ ६ गते १४:३२ मा प्रकाशित

काठमाण्डु, ६ भदौ– नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले जाजरकोटका भूकम्प प्रभावित क्षेत्रका जोखिमयुक्त बस्तीहरु तत्काल स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन ।

भूकम्पमा घर गुमाएकाहरुलाई अस्थायी आवासको व्यवस्था गरिए पनि ती अस्थायी आवास पनि असुरक्षित भएको भन्दै बस्नेतले बस्ती स्थानान्तरणको माग उनले गरेका छन ।

आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दे सांसद बस्नेतले सरकारसँग यस्तो माग गरेका हुन । उनले भने, ‘भूकम्प प्रभावित क्षेत्रबाट बस्तीहरु स्थानान्तरण गर्नुपर्ने आवश्यकता छ । ती बस्तीहरु स्थानान्तरण हुन नसक्दा अझ बढी जनधनको क्षति हुने परिस्थिति निर्माण भइरहेको छ ।’

उनका अनुसार ८२ स्थानका बस्ती स्थानान्तरण गर्नुपर्ने आवश्यकता छ र मनसुनसम्म आइपुग्दा त्यो संख्या अझै बढेको अनुमान रहेको छ । उनले भने, ‘त्यसकारण तत्काल जोखिमयुक्त बस्तीहरु पहिचान गरी त्यसको स्थानान्तरणको व्यवस्था गर्न भूगर्भविदहरु तत्काल प्रभावित क्षेत्रमा पठाउनका लागि आग्रह गर्न चाहन्छु ।’

सरकारले राहतका निम्ति अस्थायी आवास बनाउनका लागि केही रकम उपलब्ध गराए पनि तिनै अस्थायी अवासहरु पहिरोका कारणले फेरि क्षतिग्रस्त भएका छन् ।

अहिलेको कार्यविधिले त्यस्ता पीडितहरुलाई दोहोरो सुविधा नदिने भने पनि पहिरोको कारणले क्षतिग्रस्त भएका अस्थायी आवास व्यवस्थापनका लागि थप राहत उपलब्ध गराउन उनले सरकारको ध्यानाकर्षण गराए ।

भूकम्प प्रभावित क्षेत्रमा सरकारी संरचना, विद्यालय र निजी आवास निर्माण गर्न आवश्यक रहेको भन्दै उनले त्यसका लागि सम्बन्धित मन्त्रालयका केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई डेडिकेटेड रुपमा जाजरकोटमा स्थापना गर्न पनि माग गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us