आंशिक प्राध्यापकलाई करारमा नियुक्त गर्ने त्रिविको निर्णय

काठमाण्डु टुडे २०८१ भदौ ६ गते १२:३९ मा प्रकाशित

काठमाण्डु, ६ भदौ– त्रिभवन विश्वविद्यालयमा अध्यापनरत आंशिक प्राध्यापकहरूलाई करारमा नियुक्त गर्ने निर्णय गरेको छ । साउन २३ गते बसेको त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले आंशिक शिक्षकहरूलाई करार सेवाका शिक्षण सहायक पदमा नियुक्ति गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।

त्रिविका ६२ वटै आङ्गिक क्याम्पस तथा केन्द्रीय विभागहरूमा कार्यरत स्थायी, अस्थायी र करार प्राध्यापकहरूले पूर्ण कक्षाभार लिई बाँकी रहेको कक्षाभारलाई आधारमानी त्रिविको स्वीकृति रिक्त दरबन्दीमा करार सेवाको शिक्षण सहायक पदमा नियुक्ति प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

त्रिभुवन विश्वविद्यालयले प्राडा रामकृष्ण तिवारीको संयोजकत्वमा वार्ता तथा राय सुझाव समिति गठन गरेको थियो । उक्त समितिको प्रतिवेदनको आधारमा आंशिक प्राध्यापक सङ्घ केन्द्रीय सङ्घर्ष समिति र वार्ता तथा राय सुझाव समितिबिच २०८१ साउन १५ गते समझदारी भएको थियो ।

सोही समझदारी अनुसार आंशिक प्राध्यापकहरूलाई करार सेवाको शिक्षण सहायक पदमा नियुक्ति गर्ने निर्णय गरिएको हो । त्यसका लागि तीन सदस्यीय स्थलगत अध्ययन कार्य टोली गठन गर्ने निर्णय गरिएको छ ।

सो टोलीको पेस गरेको प्रतिवेदनका आधारमा शिक्षण सहायक नियुक्ति कार्यविधि निर्माण गरी शिक्षण सहायक पद सम्बन्धी प्रक्रिया सम्बन्धित क्याम्पसरकेन्द्रीय विभागमार्फत अगाडि बढाउने निर्णय गरिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us