महोत्तरी, ६ भदौ– महोत्तरीमा एक नवविवाहिता युवतीको शंकास्पद मृत्यु भएको छ ।
जलेश्वर नगरपालिका–८ रमौलकी २० वर्षीया रिना देवी राय मंगबार राति मृत भेटिएकी थिइन् । उनी सोही दिन माइतीबाट घर फर्किएकी थिइन । धनुषा हंसपुर नगरपालिका–६ सोनिगामाकी रिनाको गत वैशाख १९ गते सामाजिक परम्पराअनुसार रोहनसँग विवाह भएको थियो ।
माइती पक्षले दाइजोको निहुँमा रिनाको हत्या भएको दाबी गर्दै पति रोहनसहित ससुरा ५२ वर्षीय बृजमोहन राउत, सासु ४८ वर्षीया मनतोर देवी राउत र देवर २५ वर्षीय ओमकुमार राउतविरुद्ध बुधबार कर्तव्यज्यान मुद्दामा जाहेरी दिएको छ ।
परिवारले मंगलबार राति नै एक्कासि बिरामी भएर रिनाको मृत्यु भएको खबर माइतीलाई दिएको थियो । महोत्तरी प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले घटनाबारे अनुसन्धान भइरहेको बताए ।
उनका अनुसार मृतकका श्रीमान रोहनले रिना अचानक बिरामी भएपछि उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको र उपचारका क्रममा मृत्यु भएपछि शव घरमा ल्याएको बयान दिएका छन् ।
मृतकको मुखबाट रगत बगेको तथा घाँटीमा निलडाम देखिएको छ । शव पोष्टमार्टमका लागि परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
मृतकका बुबा नवलले माइतीबाट थप दाइजो नल्याएको भन्दै ज्वाईं र छोरीका ससुराले दबाब दिँदै आएको बताएका छन् ।