उदयपुर, ६ भदौ– उदयपुरको कटारी नगरपालिका–३ राजावासस्थित फोहोर विर्सजनस्थल (डम्पिङ साइट) मा बुधबार एक व्यक्ति मृत फेला परेका छन् ।
मृतक ताप्लि गाउँपालिका–१ का ५० वर्षीय कृष्णबहादुर दमाई रहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी सुवास राईले जानकारी दिए । प्रहरीका अनुसार दमाई १५ वर्षदेखि घर छाडेर हिंडेका थिए । उनी कटारी बजार क्षेत्रमा पुराना खाली बोतल टिपेर हिंड्ने गर्थे ।
शव परीक्षणका लागि कटारी अस्पतालमा राखिएको छ । स्थानीयले बेवारिसे शव देखेपछि प्रहरीमा खबर गरेका थिए । प्रहरीले मदिरा सेवन गरी फोहोरमा सुतेकै अवस्थामा दमाईको मृत्यु भएको अनुमान गरेको छ । प्रहरीले शव परिवारको जिम्मा लगाउने तयारी गरेको छ ।