काठमाण्डु, ५ भदौ– सिधा कुरा डटकमका लागि फेक अडियो बनाउने कार्यमा संलग्न राजकुमार तिमल्सिना पक्राउ परेका छन् ।
प्रहरीको काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले
बैंकिङ कसुर मुद्दामा बुधबार साँझ पेप्सीकोलाबाट पक्राउ गरेको हो । कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बैंकिङ मुद्धामा पक्राउ गरिएको भए पनि उनीविरुद्ध अरु मुद्धासमेत रहेको जानकारी दिए ।
तिमल्सिनाले सर्वोच्च अदालतका न्यायाधीश, कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलास सिरोहिया, अन्नपूर्ण मिडिया ग्रुपका अध्यक्ष रामेश्वर थापा र कानुन व्यवसायीविरुद्ध नक्कली अडियो बनाएका थिए । उक्त अडियो सिधाकुरा नामक युट्युबमा प्रसारण गरिएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुले गत १३ असारमा तिमल्सिनासहित सिधा कुराका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानाविरूद्ध एक लाख रूपैयाँसम्मको जरिवाना र ५ वर्षसम्म कैद वा दुवै सजाय माग गर्दै मुद्दा दर्ता गरेको थियो । उनीहरुमाथि विद्युतीय कारोबार ऐन र अपमानजनक कसुरमा अपराध गरेको अभियोग लगाइएको छ ।
सिधा कुराले गत १४ वैशाखमा ‘चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेसन’ नाम दिएर उक्त फेक अडियो प्रसारण गरेको थियो । प्रहरीको विधिविज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा अडियो नक्कली भएको प्रमाणित भइसकेको छ ।