अध्ययन भन्छः तापक्रम वृद्धिका कारण थामेमा हिमताल फुट्यो

दयानिधि भट्ट २०८१ भदौ ५ गते २०:०८ मा प्रकाशित

काठमाण्डु, ५ भदौ– सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका थामेमा हिमताल फुटेर बाढी आउनुको कारण तापक्रम वृद्धि रहेको एक अध्ययनले देखाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा प्राधिकरणका प्रमुख कार्यकारी प्रमुख अनिल पोखरेलले माथिल्लो हिमतालमा रहेको हिउँ तापक्रम वृद्धिका कारण पग्लिएको बताए । उनका अनुसार सोही समयमा लगातार वर्षात भएकाले पानीको सतह पनि बढ्न गई पानीको छाल तल्लो हिमतालमा बजारिँदा बाढी आएको बताए ।

तल्लो तालको मुख कमजोर भएका कारण फुटेर घटना भएको आफूहरुको अनुसन्धानले देखाएको उनको भनाइ थियो । उनका अनुसार असार र साउन महिनामा उक्त क्षेत्रमा तापक्रम वृद्धि भएको अध्ययनले देखाएको छ ।

‘तापक्रम वृद्धिका कारण ताल फुटेको हो भन्ने हाम्रो अध्ययनले देखाएको छ’, पोखरेलले भने, ‘ हिउँ पग्लेको कारण पानी र त्यसको केही छालसमेत आइससहित तल्लो तालमा गएर बजारियो र तल्लो तालको मुख कमजोर भएर यो घटना हुन गएको हो ।

उनले उक्त क्षेत्रको तापक्रममा भएको वृद्धिबारे विस्तुतमा अध्ययन गरिने पनि जानकारी दिए । अध्ययनका लागि आफूसमेत उक्त क्षेत्रमा गएको भन्दै पोखरेलले पातलो ज्याकेट लगाएर जाँदा पनि जाडो महसुस नभएको बरु गर्मी भएको उल्लेख गरे ।

थामे बजारका स्थानीयसँगको अन्तरक्रियामा आफूले सो क्षेत्रमा ताल फुट्नुभन्दा तीन/चार दिन अघिदेखि कालो र निलो रंगको बादल मडारिएको जानकारी पाएको बताए । स्थानीयहरुले त्यसअघि त्यस प्रकारको कालो बादल उक्त क्षेत्रमा नदेखेको जानकारी दिएका थिए ।

थामेमा गत ३२ साउनमा हिमताल फुटेर बाढी आएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us