पहिरोले अवरुद्ध नागढुंगा सडक एकतर्फी सञ्चालनमा

काठमाण्डु टुडे २०८१ भदौ ५ गते १९:३० मा प्रकाशित

 

काठमाण्डु, ५ भदौ – चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगामा खसेको पहिरो हटाएपछि अहिले एकतर्फी रुपमा सवारी आवागमन खुलेको छ ।

प्रहरी वृत्त थानकोटका अनुसार साँझ ५ बजेदेखि सडक एकतर्फी खुलाइएको र अहिले काठमाडौं आउनका लागि नागढुङ्गा तल्लो क्षेत्रमा जाममा रहेका सवारी साधनलाई भित्र्याउन सुरू भएको छ। सवारी साधनको लामो लाइन रहेकाले सहज हुन केही समय लाग्ने जनाइएको छ ।

वर्षा जारी रहँदा पहिरो पन्छाउने र खस्ने क्रम जारी भएकाले आज बिहान १०ः३० बजेदेखि पहिरो खसेर रोकिएको सडक खुलाउन दिनभर समय लागेको हो । जसका कारण काठमाडौं नौविसे सडक खण्ड प्रभावित भएको थियो ।

तीन वटा एक्स्काभेटरको सहयोगमा पहिरो पन्छाउने कार्य भइरहेको छ।थप पानी परेको खण्डमा पुनः पहिरो खसेर अवरोध हुनसक्ने सम्भावना रहेको प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले बताए ।

कतिबेला बाटो बन्द हुने हो थाहा छैन, त्यसैले अहिले काठमाडौं उपत्यकामा ‘माइकिङ गरेरै आज सो क्षेत्रमा सकेसम्म यात्रा नगर्न भनिएको छ ।’ उपरिक्षक सुवेदीले भने ।
नागढुङ्गा चोकबाट केही सय मिटर पर नागमन्दिर नजिकै पहिरो खसेको हो । जसका कारण दिनभर काठमाडौं भित्रिने र बाहिरिने सबै सवारी साधन ठप्प रहेको थियो । अहिले पानी पर्न कम भएको छ ।
नागढुङ्गा प्रहरीले काठमाडौंबाट बाहिर जाने सवारी साधन नागढुङ्गामै रोकेर फर्काइरहेको छ भने आउने सवारी साधन ‘पिप्लामोड’ भन्दा तल नै रोकिएका छन् । काठमाडौं छिर्ने मुख्य नाका नै बन्द हुँदा दिनभरि नै यात्रुहरू प्रभावित भए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us