काठमाण्डु, ५ भदौ- काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा झरी परिरहेको छ ।अबिरल झरिका कारण सुदूरपश्चिमका तराई भू-भाग पनि डुबानमा पर्न थालेका छन् ।
सुदूरपश्चिमको कैलाली, मधेस प्रदेशको पर्सामा धेरै भारी वर्षा भएको छ।पछिल्लो २४ घन्टामा कैलालीको गर्भ दरबार केन्द्रमा १७४ मिलिमिटर वर्षा भएको छ ।
त्यसैगरि कञ्चनपुर, कैलालीकै धनगढी, डडेलधुरा, लमजुङ लगायतका जिल्लामा भारी वर्षा मापन भएको छ । पर्साको रंगपुरमा १८० मिलिमिटर वर्षा भएको छ ।
काठमाडौं उपत्यकासहित देशका केही स्थानमा बुधबार दिउँसो पानी पर्न मत्थर भए पनि बिहीबारबाट मात्रै मौसम खुल्नेछ- वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।
मानन्धरका अनुसार अहिले मनसुनको न्यूनचापीय रेखा सरदरको स्थानभन्दा केही उत्तर नेपालतर्फ सरेको छ ,नेपालतर्फ सरे पनि त्यो रेखा नेपालमै छैन तर मनसुन सक्रिय देखिएको छ ।
लुम्बिनी, गण्डकी, बागमती प्रदेश आसपास मनसुनजनित ‘सर्कुलेसन’ बन्दा काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा झरी परिरहेको हो ।
त्यही सर्कुलेसनका कारण अहिले पानी पर्ने र रोकिने भइरहेको छ। यो क्रम बिहीबार साँझसम्म रहन्छ ।
बिहीबार साँझबाट भने क्रमिक सुधार हुनेछ, शुक्रबार, शनिबार र आइतबार घाम देख्न पाइनेछ तर पूरै चाहिँ खुल्दैन, हल्कादेखि मध्यम र कतै भारी वर्षा हुन्छ । त्यसपछि लगातार झरी पर्ने सम्भावना देखिँदैन -मौसमविद मानन्धरले भनिन