काठमाण्डुबाट धरान जाँदै गरेको बस चितवनमा ट्रकसँग ठोक्कियो, १० जना घाइते

काठमाण्डु टुडे २०८१ साउन २८ गते १५:३७ मा प्रकाशित

काठमाण्डु, २८ साउन– चितवनको राप्ती नगरपालिका–५ स्थित पम्फा पुलमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते भएका छन । काठमाण्डुबाट धरानतर्फ जाँदै गरेको बागमती प्रदेश०१–००६ ख ४७९९ नम्बरको बस र सोही दिशाबाट जाँदै गरेको ना-६ ख- ५९२७ नम्बरको ट्रक एकआपसमा आज बिहान ठोक्किँदा बसमा सवार १० घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

घाइतेमध्ये सातजनाको अवस्था मध्यम रहेको छ भने तीनजनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिएका छन ।

घाइतेमध्ये चार जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुर र छजनाको एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुरमा उपचार भइरहेको पनि उनले जानकारी दिए ।

प्रहरीले दुवै सवारीसाधन, बसचालक जिल्ला सप्तरी तिरुत गाउँपालिका–२ का ४० वर्षीय सन्तोषकुमार यादव र ट्रकचालक रामेछाप साङटार गाउँपालिका–२ का ३५ वर्षीय निरकुमार प्रधानलाई नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us