घाइतेले उपचार पाएनन्, २ जनालाई हेलिकप्टरबाट काठमाण्डु लैजाने तयारी

काठमाण्डु टुडे २०८१ साउन २३ गते ९:४० मा प्रकाशित

काठमाण्डु, २३ साउन– बागलुङको बडीगाड गाउँपालिका–१० मा मंगलबार बिहान पहिरोमा परी घाइते भएकाहरूले मौसमका कारण बुधबार बिहानसम्म पनि उपचार पाएका छैन्न ।

बडीगाड–१० आरुपाटामा पहिरोले घर गोठ बगाउँदा ६ जनाको मृत्यु भएको थियो भने ४ जना बेपत्ता छन् । ९ जना घाइते भएका छन । मंगलबार ढिला पनि भएको र मौसमका कारण उपचारका लागि स्वास्थ्य संस्थासमेत पुर्‍याउन नसक्दा घाइतेलाई गाउँमै राखिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई उपचारका लागि अहिले बुर्तिबाङ अस्पताल लैजान लागिएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिएका छन । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको पनि उनले जाकारी दिएका छन । उनले भने, ‘२ जना महिलाको अवस्था गम्भीर रहेको जानकारी पाएका छौं ।

मौसमका कारण मंगलबार उपचारका लागि पुर्‍याउन नसकिएपछि गाउँमै प्राथमिक उपचार गरेर राखिएको छ । अहिले बुर्तिबाङ लैजाने तयारी भइरहेको छ, ‘बेपत्ता ४ जनाको खोजीका लागि बिहानैदेखि प्रहरी, नेपाली सेना खटिएको छ ।’ घाइतेलाई उपचारका लागि काठमाडौं लैजानका लागि मंगलबार साँझ नै हेलिकप्टर मगाइएको भए पनि सदरमुकाम बागलुङ बजार नै राखिएको छ ।

गम्भीर घाइते बिरामीलाई बुर्तिबाङ बजार पुर्‍याएर त्यहाँबाट  काठमाण्डु  उपचारका लागि लैजाने तयारी भइरहेको बरालले जानकारी दिएका छन । गम्भीर घाइते बनेका घरधनी जोगबहादुर बुढाको मंगलबार साँझ मृत्यु भएको थियो । उनीसँगै सो घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको पनि उनले जानकारी दिए । घरधनी ७८ वर्षका जोगबहादुर बुढा, उनकी नातिनी ७ वर्षकी मालती बुढा, ८ वर्षीय अमन बुढा, ११ वर्षीया सीता पुन, ७० वर्षीया मोतीदेवी कामी, ६ महिनाकी सीता विकको मृत्यु भएको हो ।

मधु बुढा, ३ वर्षीय आरुष थापा, १० वर्षीय मनोज बुढा र ११ वर्षीय सुमन विक बेपत्ता छन् । वडानम्बर १० हुँदै बग्ने दर्लिङ सल्लेना खहरे खोलाले तान्न सक्ने डरले छिमेकी, आरुपाटाभन्दा माथिको गाउँबाट बुर्तिबाङ बजार हिँडेका, एसइईको पुरक परीक्षा जान हिँडेका विद्यार्थी खोला तर्न नसकेर आरुपाटामा सुरक्षित देखेर जोगलालको घरमा आश्रय लिएका थिए ।

बिहान त्यही घर र गोठ पहिरोले बगाएको हो । पहिरोमा परी घरधनी घाइते जोगबहादुरको मृत्यु भयो भने जुम्ल्याहा नातिनीमध्ये ७ वर्षीय मालतीको ज्यान गएको थियो । अर्की नातिनी मधु बेपत्ता हुन पुगेकी छन् । घाइतेमा २६ वर्षीय ओमप्रसाश पुन, ४६ वर्षीया संगीता बुढा, २३ वर्षीया सिर्जना विक, ४३ वर्षीय मंगल सेनबुढा, १९ वर्षीया रिमा पुन, ६० वर्षीया सुमित्रा विक, ५१ वर्षीय सशीराम विक, ९ वर्षीय ज्ञाने बुढा र ३१ वर्षीय सीता थापा घाइते छन् ।

पहिरोबाट दौडिएर भाग्न र उम्कनै नसक्ने उमेरका ३ महिनाकी शिशुदेखि नाबालकदेखि ७० वर्षीया वृद्धासम्मको मृत्यु भएको छ । बडिगाड गाउँपालिका वडा नम्बर ९ मा पहिरोले पुरिएर भीम बिठे मावि कक्षा ५ मा अध्ययनरत १४ वर्षीय बालक विधान परियारको मृत्यु भएको छ । यसैगरी वडा नम्बर ९ मै २४ वर्षीय गंगा बस्नेतको मृत्यु भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us